इरानमा अमेरिका-इजरायलकाे संयुक्त सैन्य आक्रमण, इरानी सर्वाेच्च नेता खामेइनी सुरक्षित स्थानमा
तेहरान- इजरायल र अमेरिकाले इरानमाथि संयुक्त रूपमा हमला गरेका छन् । आक्रमण इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको कार्यालयनजिक पनि भएकाे छ ।
इजरायलले इरानको राजधानी तेहरानसहित धेरै शहरमा आक्रमण गरेको छ। यो हमला अमेरिका–इजरायलको संयुक्त सैन्य कारबाहीअन्तर्गत गरिएको हो।
यस क्रममा इरानी सर्वोच्च नेता खामेनेईको कार्यालय नजिक हमला गरिएको छ। हमलापछि उनलाई सुरक्षित स्थानमा सारिएको छ।
नेपाली समयअनुसार शनिबार दिउँसो भएको यस आक्रमणपछि शहरहरूमा धुवाँको मुस्लो देखिएको छ। इजरायली डिफेन्स फोर्सले इरानमाथि आक्रमणको पुष्टि गर्दै यसलाई पूर्व–रोकथाम हमला भनेको छ। तेहरानसहित विभिन्न शहरमा विस्फोट सुनिएका छन् र हवाई हमलाका साइरन बजिरहेका छन्।
हमलापछि इरानले सबै उडान रोक्दै आफ्नो एयरस्पेस पूर्ण रूपमा खाली गराएको छ। उता इजरायलमा पनि एयर अट्याक साइरन बजिरहेका छन्। संवेदनशील क्षेत्र खाली गरिँदै छ, सर्वसाधारणलाई घरमै बस्न अपिल गरिएको छ।
अमेरिकाले पहिले नै हमलाको चेतावनी दिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानमाथि आक्रमणको चेतावनी दिएका थिए।
अमेरिकी सेना पहिले नै इरानलाई चारैतिरबाट घेरेको बताइएको छ। यसअघि शुक्रबार अमेरिकाले आफ्ना नागरिकलाई तत्काल इजरायल छोड्न पनि आग्रह गरेको थियो।
इजरायलले आफ्नो एयरस्पेस बन्द गर्यो
इजरायलकी यातायात मन्त्री मिरी रेगेभले सुरक्षा परिस्थितिका कारण देशको हवाई क्षेत्र नागरिक उडानका लागि बन्द गर्ने आदेश दिएको घोषणा गरेकी छन्।
उनले भनिन्, ‘यात्रुहरूको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो। अर्को सूचना नआएसम्म विमानस्थलतर्फ यात्रा नगर्न जनतालाई अनुरोध छ। विदेशमा रहेका यात्रुहरूले हवाई क्षेत्र खुल्नेबारे जानकारीका लागि सञ्चारमाध्यम र एयरलाइन्ससँग सम्पर्क राखुन् ।’
