मतदानको दिन अत्यावश्यक सेवाका सवारीलाई पास नचाहिने, पत्रकारलाई पनि सहज
काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानका दिन अत्यावश्यक सेवा र विशेष परिस्थितिमा रहेका मतदाताहरूका लागि सवारी पास आवश्यक नपर्ने गरी विशेष व्यवस्था गरेको छ ।
आयोगको शनिबार बसेकाे बैठकले मतदानको दिन सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइए पनि निश्चित क्षेत्र र व्यक्तिहरूका लागि सवारी आवागमनमा सहजता प्रदान गर्ने निर्णय गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार मतदानको दिन अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान सुचारु रहने सन्दर्भमा विमानस्थलसम्म पुग्नुपर्ने यात्रुहरूको सुविधा र निर्वाचन परिचालनमा खटिने सवारी साधनको संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो ।
आयोगले गरेको सिफारिसअनुसार दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानीका ट्याङ्कर, दुध, फलफूल, तरकारी, माछा-मासु र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरूलाई सवारी पास बिना नै सञ्चालन हुन दिइनेछ ।
त्यसैगरी दूरसञ्चार, खानेपानी, विद्युत, ढल मर्मत र अस्पताल सेवाका सवारी साधनहरूका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अस्पताल आउजाउ गर्न प्रयोग गर्ने सवारी साधनलाई पनि पासको अनिवार्यता गरिएको छैन ।
मतदान प्रक्रियालाई समावेशी र पहुँचयोग्य बनाउन आयोगले हिँड्डुल गर्न नसक्ने, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र साथमा बच्चा बोकेका महिलाहरूका लागि विशेष सहुलियत दिएको छ ।
यस्ता मतदाता र उनीहरूको सहयोगका लागि खटिने एक जना सहयोगी बोकेको सवारी साधनलाई मतदान केन्द्रसम्म पुग्न र फर्कन सवारी पास नचाहिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
यसका साथै क्रियापुत्री बोकेका सवारी साधन र नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधनहरूलाई पनि बिना पास सञ्चालनको अनुमति दिइएको छ ।
सञ्चार क्षेत्र र अनुगमनका लागि खटिने निकायहरूका हकमा पनि आयोगले खुकुलो नीति लिएको छ ।
आयोगबाट जारी भएको पर्यवेक्षक परिचयपत्र वाहकहरूले तोकिएको स्थानमा प्रयोग गर्ने सवारी साधन, राष्ट्रिय मानवअधिकार आयोगको अनुगमन टोली र वैधानिक प्रेस पास भएका सञ्चारकर्मीहरूका सवारी साधनलाई पनि पास आवश्यक नपर्ने गरी सरकारलाई सिफारिस गरिएको छ ।
सञ्चारकर्मीहरूको हकमा समाचार सङ्कलनको प्रयोजनका लागि वैधानिक परिचयपत्रका आधारमा यात्रा गर्न सहजीकरण गरिने आयोगको भनाइ छ ।
आयोगले सवारी साधन सञ्चालनमा लगाइएको यो रोक फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि मात्र लागू हुने स्पष्ट पारेको छ ।
प्रवक्ता भट्टराईले अत्यावश्यक आवश्यकताका लागि उपलब्ध गराइएको यो प्रावधानको दुरुपयोग नगर्न विशेष अनुरोध गर्दै सम्बन्धित व्यक्तिले मात्रै यस्तो सुविधा प्रयोग गर्नुपर्नेमा जोड दिए ।
उनले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै अत्यावश्यक बाहेकका अन्य प्रयोजनका लागि सवारी पास चाहिने व्यक्ति वा संस्थाहरूले नियमानुसारको प्रक्रिया पूरा गरी पास लिनुपर्ने बताए ।
यस्तै, काठमाडौं उपत्यकाको हकमा सवारी पास वितरणका लागि आयोग परिसरमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र आयोगका प्रतिनिधिहरू सम्मिलित एउटा छुट्टै डेस्क खडा गरी सेवा प्रवाह भइरहेको छ ।
उपत्यका बाहिरका जिल्लाहरूको हकमा भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट कानुन बमोजिमका कागजात पेश गरी पास लिन सकिने व्यवस्था मिलाइएको उनले बताए ।
आयोगले मतदानको दिन सहजताका लागि गरिएको यो व्यवस्थाबाट ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अत्यावश्यक सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरेको छ ।
