डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन, घट्यो सङ्क्रमण
काठमाडौँ । सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले डेङ्गु सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई सचेतना कार्यक्रम गर्न निर्देशन दिइएको बताए ।
“सचेतना कार्यक्रमले डेङ्गु सङ्क्रमण घट्दै गएको पाइएको छ,” उनले भने, “गर्मी सुरुसँगै डेङ्गु सङ्क्रमण जोखिम रहेका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेका छौँ ।”
महाशाखाका अनुसार अघिल्ला वर्षको तुलनामा गतवर्ष डेङ्गु सङ्क्रमण पाँच गुणा घटेको पाइएको छ । सन् २०२४ को अनुपातमा सन् २०२५ मा पाँच गुणा डेङ्गु सङ्क्रमण घटेको छ । सन् २०२४ मा ४१ हजार ८६५ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो भने सन् २०२५ मा त्यसको करिब पाँच गुणा कम आठ हजार ५७६ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।
शाखा प्रमुख डा दाहालले सरकारको डेङ्गु सङ्क्रमणविरुद्ध सञ्चालन गरेको अभियानले गर्दा घटेको बताए ।
सरकारले प्रत्येक शुक्रबार सरकारी कार्यालयमा डेङ्गु सङ्क्रमण सार्ने लार्भा खोज र नष्ट गरे अभियान सञ्चालन गरेको थियो । शाखाका प्रमुख डा दाहालले समुदायको पहलमा नै डेङ्गु सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न सकिएको बताए ।
