`

सांसदको सूचीमा नपरेपछि कलाकारितामै फर्किए प्रकाश सपुत

Nepal One HD ७ चैत २०८२ १३:४९
मनोरञ्जन भिडियो

काठमाडौं। गायक प्रकाश सपुत कलाकारितामै फर्किएका छन्। शनिबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै पुनः कलाकारिता क्षेत्रमा सक्रिय हुने निर्णय सार्वजनिक गरेका छन्।

स्टाटसमा सपुतले लेखेका छन्, ‘अब म ढुक्कसँग जनतालाई मनोरञ्जन दिन चाहन्छु। मेरो बाल मन-मष्तिष्कले बोकिएको सामाजिक तथा राजनीतिक चेतको भारी बिसाएर केवल इन्टरटेनेर बन्ने चाहना छ। म समाज र राज्यको नजरमा एक सामान्य मान्छे भएर बाँच्न चाहन्छु।’

सपुत राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा प्रस्तावित भए पनि अन्तिम चरणमा परेनन्। उनले चुनावमा होमिनु देशका लागि पाँच वर्ष समर्पित गर्ने मनसायसँग भएको बताए पनि सूचिबाट बाहिरिनु प्रति कुनै गुनासो नरहेको बताएका छन्।

यस्तै, उनले रास्वपाका सभापति रवि लामिछानेले पार्टीमै रहेर देशका लागि योगदान गर्न गरेको प्रस्तावको स्मरण गर्दै धन्यवाद व्यक्त गरेका छन्। तर उनले लामिछानेलाई ‘अब साँच्चिकै देश बन्ने अनुभूति दिलाउने गरी काम गर्न’ सुझाव दिएको समेत उल्लेख गरेका छन्।

सपुत केही समयअघि मात्रै रास्वपा प्रवेश गरेका थिए।  उनलाई रास्वपाले समानुपातिक उम्मेदवार को सूचीमा पनि राखेको थियो।  २१ फागुनमा सम्पन्न भएको निर्वाचनबाट समानुपातिक तर्फा ५७ सांसद पाएको रास्वपाको अन्तिम सूचीमा भने सपुत परेका थिएनन्। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *