रात अनिँदो छ !
रात अनिँदो छ !
~
पहेँला आँखा पल्टाएर सूर्य गएपछि
काला आँखा उघारेर आउँछ रात
आउँछ, सिठी बजाउँदै भ्यानमा तैनाथीमा
सटर बन्द हुँदै गरेको बजारसंगै आउँछ रात ।
निभ्दै गरेको सहरको विद्युतीय बत्ती झैँ
झिप्प-झिप्प,गर्दै झाप-झुप झ्याल र ढोकाको चुकुल लगाउँदै आउँछ रात
रात आउँछ,सुनसान हुँदै गरेको सडकको बाटो भएर
थाकेर भुक्न छाडेका भुसिया कुकुरहरूलाई थाहा नदिई
रात आउँछ,बिस्तारै-बिस्तारै
काला आँखा उघारेर आउँछ रात ।
~
यी रातहरूमा रात जागै बस्छ
सुन्धारामा ठिङ्ग उभिएको धरहराको छेउमा
धरहरासँगै
रानीपोखरी हेरिरहेको घण्टाघरसँग आँखा जुधाउँदै
जुगलसँग जुवारी खेल्दै
चिया बगानमा सुस्तरी सुस्तरी ओलाङचुङ्गोलाका खोचका कसैसँग साउती मार्दै
~
रातसँग तमन्ना केही छैन
बस् रातमा,रात आफ्नो छातीमा जूनलाई सुताएर
छाती थपथपाउँदै जुन निदाएको हेर्ने प्रतीक्षामा प्रतिबद्ध छ ।
जून भने,
प्रतीक्षामा रातसङ्ग जुन हुँदैन
जून कला देखाउँदै कालान्तरमा कलातीत भइदिन्छ
रात जून आउने रातको प्रतीक्षामा
रात पर्खेर बस्छ रातभर,
रात,आँखा मिच्दै मिच्दै अधेरी रातमा
प्रतीक्षारत हुन्छ रातभर ।
~
हँ,रात के खोज्दै होला रातभर ?
स्वयम्भूको डाँडा माथिबाट छाउनीका छानातिर
रात के खोज्दै होला रातभर ?
कंकालीको टुप्पाबाट काठमाडौँको गल्लीहरूमा
बानेश्वर अनामनगरका सडक पेटीदेखि संसद भवन र सिंहदरबारबाट भित्र चिहाउँदै,
रात कसलाई खोज्दै होला रातभर ?
देखिन्छ,आइफिल टावरका टुप्पाबाट सुतिरहेको सहर
रात देख्छ,सगरमाथाका शिरबाट घुरिरहेको देश
~
रात,बिहान कसैलाई जागेको हेर्ने आशामा
रात स्वस्थानीको साङ्गेको रात झैँ जाग्रम बसिरहन्छ रातभर ।
रात,बस जागा बसिरहन्छ
कसैलाई नजगाइकन
रातभर’ रात जागा बसिरहन्छ
~
रात हिँड्छ लुखुर-लुखुर
बालाजु,बसपार्क,चक्रपथ रिंगरोडका चौडा सडकहरुमा
दिनभर टायरका सुम्लाले सुन्निएको सडकको शरीर सुम्सुम्याउँदै
दौडन्छ;दिनभर दौडेर थाकेको माछापोखरी;बसुन्धराको सुनसान
बेबारिसे चोकलाई हालखबर सोध्दै,
~
रात, स्वागत गर्छ,साँगाका नाकाबाट भित्रिँदै गरेका गाडीलाई
थानकोटको बाटोबाट निस्कँदै गरेका मान्छेहरुलाई
रात,आउनेको स्वागतमा बाहु फैलाउँछ
जानेको विदाईमा हात हल्लाउँछ।
~
रात,पशुपतिका धर्मशालामा स्लपिंङ पिल्स खाएर,
लम्पसार सुतिरहेको सहरलाई बस चुपचाप हेरिरहन्छ ।
सबैसँग भएर पनि एक्लै हुन्छ रात
सबैलाई देख्ने रातलाई कसैले देख्दैन बिचरा !
यस्तै-यस्तै
सबैलाई हेर्दैहेर्दै सारा रात दौडिरहन्छ रातभर
गन्तव्य निश्चित नभएपनि निद्रा लागेपनि रात
सुत्दैन,हिँडिरहन्छ रातभर
भौतारी रहन्छ रातभर
~
बिहान कसैलाई जागेको हेर्ने आशामा
रातले बस आँखा उघारेर हेर्न जानेको छ,
आँखा चिम्म गरेर सम्झन जानेको छ,
आँखा खोलेर रुन जानेको छ ।
~
चोभार काटे झै मञ्जुश्रीले
रातले बस् एक्लै पर्खाईमा रात काट्न जानेको छ
रात,चुपचाप रोइरहन्छ रातभर।
बस रातले अधेरी रातमा रुन जानेको छ।
कसैलाई जागेको हेर्ने आशामा अनिँदो छ रात,
लाखौं वर्षौंदेखि
सुतेको छैन रात लाखौं रातदेखि
रात अनिँदो छ ।
