…अनि पाएनन् श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतक
काठमाडौं । श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख सचेतक राख्न नपाउने भएकाे छ । प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीकाे ७ र राप्रपाकाे ५ जना सदस्य छन् ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार १० जना सदस्य रहेको दलले मात्रै प्रमुख सचेतकको सुविधा पाउँछन् । साेहीकारण श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख सचेतक राख्न नपाउने भएका हुन् ।
६ वटा राष्ट्रिय दलमध्ये बाँकी चारवटा दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले भने प्रमुख सचेतक राख्न पाउने भएका छन् । किनभने रास्वपासँग १८२ जना, काङ्ग्रेसँग ३८ जना, एमालेसँग २५ जना र नेपाली कम्युनिस्ट पार्टीसँग १७ जना सांसद रहेका छन् ।
यी दलहरुले भने संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको अनुसूची २ अनुसार दलको प्रमुख सचेतक पाउनेछन् भने प्रमुख सचेतकले सवारी सुविधा र प्रथमस्तरको दुई जना सवारीचालक प्राप्त गर्छन् ।
दलको प्रमुख सचेतकका लागि छुट्टै कार्यालयको सुविधा हुन्छ । यसका लागि कार्यालय सहयोगी एक जना प्राप्त गर्दछन् । एउटा साइकल पनि पाउँछन् । अतिथि सत्कार खर्च बापत्त मासिक १५ हजार प्राप्त हुन्छ ।
