कार्यान्वयनका लागि प्रहरी परिसर पुग्यो कार्की आयोगको प्रतिवेदन
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तयार गरिएको उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको थियो।
निर्णयपछि प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमन्त्रालयमा पठाइएको थियो। गृहमन्त्रालयले त्यसलाई कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पठायो। त्यहाँबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी हुँदै अन्ततः जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रतिवेदन आइपुगेको हो।
परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले प्रतिवेदन प्राप्त भइसकेको र अब कार्यान्वयन आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन् । उनले भने ‘हामी कहाँ प्रतिवेदन आइपुगेको छ । अब कार्यान्वयनको चरणमा जान्छौं।’
उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै शनिबार (हिजो) बिहानै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
अन्य सुरक्षा निकायका सम्बन्धमा भने थप अनुसन्धानपछि मात्र आवश्यक कारबाही गरिने बताइएको छ।
जनेजी आन्दोलनमा भएको हत्याको घटनाका सम्बद्ध रहेको भन्दै कार्की आयोगले ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न ओली–लेखकलाई सिफारिस गरेको थियो ।
