बैठक ढिला सुरु भएकोमा साम्पाङको असन्तुष्टि (भिडियो)
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई(हर्क साम्पाङ) ले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
बिहीबारको पहिलो संसद् बैठकमा बोल्दै उनले समयको पालना नगर्ने प्रवृत्तिले नै देश पछाडि परेको बताए र देश निर्माण अघि सांसदहरूले आफैंलाई परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् ।
बैठक ढिला भएको प्रसङ्ग उठाउँदै सांसद राईले जनताले प्रतिनिधिलाई ढिला काम गर्न पठाएको नभएको स्मरण गराए।
उनले भने,’जनताले ढिला गर भनेर हामीलाई पठाएको होइन, तर आज बैठक ढिला भयो। नेपाल हो, यहाँ ढिला भयो भने हुन्छ भन्ने मानसिकता लिएर हामी बसेका छौँ। यही कारणले हामीले प्रगति गर्न सकेनौं।’ सभामुखमार्फत माग गर्दै उनले थपे , ‘आउँदा दिनमा बैठक सुरु हुनुभन्दा कम्तीमा ५ मिनेटअघि सबै उपस्थित हुनुपर्छ। म यो माग राख्न चाहन्छु।’
देशको विकास समयको कदर र अनुशासनबाटै सुरु हुनुपर्ने उल्लेख गर्दै उनले आगामी संसद् बैठकमा समयमै उपस्थित हुन सबैको ध्यानाकर्षण समेत गराए।
