विराज भट्ट अभिनित राम नाम सत्यको ट्रेलर युट्युब ट्रेन्डिङको १ नम्बरमा
काठमाडौं। चैत्र २७ गतेबाट सोलो रिलिज गर्न तयारी गरिएको चलचित्र ‘राम नाम सत्य’ को ट्रेलर युट्युबमा ट्रेन्डिङ–१ मा उक्लिएको छ। सस्पेन्स, प्रेम र एक्सनको मिश्रणमा बनेको यस चलचित्रको ट्रेलर बुधबार सार्वजनिक भएको थियो, र केही समयमै ट्रेन्डिङ सूचीमा प्रवेश गरेको हो।
माइकल चन्दले लेखेको कथा, पटकथा र संवादमा आधारित ट्रेलरले सार्वजनिक भएको करिब १ घन्टा ३० मिनेटमै युट्युबको सिनेमा विधामा ८औँ स्थान ओगटेको थियो। हाल भने यो ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ। ट्रेलरले २४ घन्टाभित्र १० लाखभन्दा बढी भ्यूज प्राप्त गरेको जनाएको छ।
ट्रेलरबाट पाइएका सकारात्मक प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको निर्देशक चन्दले बताएका छन्। ट्रेलरमा विराज भट्टको दमदार एक्सन, सुशील श्रेष्ठ र दिव्या रायमाझीको प्रेमकथा, तथा विराज र सुशीलको एक्सन सिक्वेन्सलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ।
चलचित्रमा टिकटकर आयुष सिंह ठकुरीको भूमिका पनि विशेष मानिएको छ। डेब्यु भूमिकामै उनले निभाएको सस्पेन्स क्यारेक्टरले दर्शकमा उत्सुकता जगाउने निर्माण टिमको दाबी छ। यसैगरी अर्की नव–नायिका खुशी कार्कीले पनि यस चलचित्रमार्फत डेब्यु गरेकी छन्।
विराज, आयुष, खुशी, दिव्या र सुशीलसँगै चलचित्रमा सुपुष्पा भट्ट, दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दिपक कोइराला, विनुता विमली, सरोज शाहलगायत कलाकारहरूको अभिनय समावेश छ। साथै आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट बाल–कलाकारको भूमिकामा छन्।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा बनेको चलचित्रमा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ। कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन् भने सह–निर्मातामा तेजराज चटौत र दमन बहादुर चन्द छन्।
मोती कार्की क्रिएटिभ निर्माता भएका यस चलचित्रमा राजेन्द्र आचार्य लाइन प्रोड्युसरका रूपमा छन्। मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन डिजाइन, बन्दे प्रसादको सम्पादन, काला चरणको ब्याकग्राउन्ड संगीत, सियोन श्रेष्ठको कोरियोग्राफी र शेर बहादुर लामाको छायांकन समावेश छ। अभिमन्यू निरवी र समय थपलिया स्क्रिप्ट कन्सल्ट्यान्टका रूपमा रहेका छन्।
चलचित्रको ‘धागोले बाटेको’ बोलको गीत सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ। एक महिनामै यस गीतलाई ६० लाख पटक हेरिएको छ।
चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा नै रहेको यो उत्साहका आधारमा, चलचित्रले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने अनुमान वितरक गोविन्द शाहीले व्यक्त गरेका छन्।
