उपन्यास ‘इथा’ सार्वजनिक
काठमाडौं। लेखक तथा स्तम्भकार केशव दाहालको नयाँ उपन्यास ‘इथा’ सार्वजनिक गरिएको छ। भक्तपुरको राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा शनिबार आयोजित कार्यक्रममा कृतिको औपचारिक लोकार्पण गरिएको हो।
कार्यक्रममा शिल्पी थिएटर ले ‘इथा’मा आधारित गीति नाटक प्रस्तुत गर्दै उपन्यासको मूल भावलाई जीवन्त बनाएको थियो। नाटकमार्फत वसुधा, लखा, धान्यवती, नयनतारा र सौरन्द्रीजस्ता पात्रहरूको कथा र संघर्षलाई प्रभावकारी रूपमा देखाइएको थियो।
समालोचक भूषिता वशिष्ठ ले ‘इथा’लाई ऐतिहासिक आख्यानभन्दा माथि उठेर पौरस्त्य दर्शनसँग जोडिएको कृतिका रूपमा व्याख्या गरिन्। उनका अनुसार उपन्यासले इतिहास, संघर्ष र महिला स्वाभिमानलाई सशक्त ढंगले प्रस्तुत गरेको छ। विशेषगरी महिला पात्रहरू ‘शक्ति’को प्रतीकका रूपमा उभिएको उनले उल्लेख गरिन्।
उनले भनिन्, ‘इथाको कथा प्रवाह, पात्रहरूको आत्मसंघर्ष र उनीहरूले लिएको निर्णायक अडानले मलाई भित्रैदेखि छोएको छ। यो पुस्तक म तपाईंहरु सबैलाई एक पटक पढ्नैपर्ने पुस्तकका रूपमा सिफारिस गर्छु। यति सुन्दर एवम् सुललित किसिमले लेखिएको उपन्यास हामीले कमै मात्रामा पढ्न पाउँछौं।’
उनले भारतीय कृति वैशालीकी नगरवधू सँग तुलना गर्दै ‘इथा’ले पनि नेपाली साहित्यमा नयाँ मापदण्ड स्थापित गर्न सक्ने सम्भावना रहेको बताइन्।
उपन्यासले करिब २४०० वर्षअघिको ऐतिहासिक परिवेशलाई आधार बनाएर वैशालीबाट लिच्छविहरू मञ्जुपट्टनसम्म आइपुगेको कथा प्रस्तुत गर्छ। सौमरहरूमाथि विजय हासिल गरी नयाँ राज्य स्थापना गर्ने घटनाक्रमलाई कलात्मक ढंगले चित्रण गरिएको छ। कथा तीन महिला पात्रको वरिपरि घुम्छ, जसले साहस, विद्रोह र आत्मसम्मानको प्रतिनिधित्व गर्छन्। युद्ध, प्रेम र पीडाबीच उनीहरूको संघर्ष अन्ततः निर्णायक मोडमा पुगेर राज्य परिवर्तनको आधार बन्छ।
‘इथा’ फाइनप्रिन्ट प्रकाशन द्वारा प्रकाशित कृति हो।
यसअघि दाहालका ‘नेपाली राजनीतिको पुनर्गठन’ (२०७३), ‘मोक्षभूमि’ (२०७७) र ‘माधवी ओ माधवी’ (२०७९) प्रकाशित भइसकेका छन्। ‘मोक्षभूमि’ले पद्मश्री साहित्य पुरस्कारसमेत प्राप्त गरेको थियो।
