कुन कुन हुन् यो वर्षका टप-५ नेपाली फिल्म ?
काठमाडौं। वर्ष २०८२ मा ५६ वटा नेपाली फिल्म प्रदर्शन भएका छन्। तीमध्ये अधिकांश फिल्म सामाजिक तथा पारिवारिक कथा, समुदायका संघर्षसँगै एक्सन, रोमान्स, प्रेम र कमेडी विधामा आधारित रहेका थिए। सीमित फिल्म मात्र व्यापारिक रूपमा सफल भए भने केही फिल्मले अपेक्षाअनुसार दर्शक र व्यापार दुवै पाउन सकेनन्।
फिल्म घोषणादेखि चर्चामा रहेका ‘भूठान’, ‘नरसिंहा अवतार’, ‘माग्ने राजा’, ‘कोशेढुङ्गा’, ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’, ‘मन बिनाको धन’, ‘अभिमन्यूः च्याप्टर वान’, ‘झरीपछिको इन्द्रेणी’, ‘एक्लो’, ‘भाइरल गोर्खे’ र ‘गोबर गणेश’ जस्ता फिल्म व्यापारिक रूपमा पछि परेका छन्।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको वार्षिक समरी-२०८२ अनुसार यस वर्ष सर्वाधिक कमाउने फिल्म ‘परान’ बनेको छ। फिल्मले १७ करोडभन्दा बढीको व्यापार गरेको उल्लेख छ।
यस वर्षका प्रमुख पाँच फिल्म:
- परान
‘परान’ वर्षकै सर्वाधिक कमाउने फिल्म बनेको छ, जसले १७ करोड ७६ लाखभन्दा बढी कलेक्सन गरेको छ। दीपकप्रसाद आचार्य निर्देशित यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी लगायत कलाकारको अभिनय छ। फिल्म बुबा-छोराबीचको सम्बन्ध, पारिवारिक विछोड र विदेशिने प्रवृत्तिबाट उत्पन्न भावनात्मक कथा वरिपरि केन्द्रित रहेको छ। - आ बाट आमा
चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’ दोस्रो स्थानमा रहँदै १३ करोडभन्दा बढी व्यापार गर्न सफल भएको छ। प्रदीप रावत, बिपना थापा, पल शाहलगायत कलाकारको अभिनय रहेको फिल्मले आमाबाबु र सन्तानबीचको सम्बन्ध, पारिवारिक जिम्मेवारी र भावनात्मक पक्षलाई प्रस्तुत गरेको छ। - जेरी अन टप
सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’ तेस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ। अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङलगायत कलाकार रहेको यो फिल्म सगरमाथा आरोहण, प्रेम र चुनौतीको कथामा आधारित छ। यो फिल्म चर्चित ‘जेरी’ को सिक्वेल हो। - ऊनको स्वीटर
नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ चौथो स्थानमा रह्यो। विपिन कार्की र मिरुना मगरको मुख्य अभिनय रहेको यस फिल्मले प्रेम, सामाजिक भिन्नता र पारिवारिक सम्बन्धको कथा प्रस्तुत गरेको छ। यो निर्देशक चौहानको डेब्यु फिल्म हो। - जारी २ : सङ अफ च्याब्रुङ
उपेन्द्र सुब्बा निर्देशित ‘जारी २ : सङ अफ च्याब्रुङ’ पाँचौं स्थानमा रहेको छ। लिम्बू संस्कृति, परम्परा र सामाजिक परिवेशमा आधारित यस फिल्मले लिम्बू समुदायको सांस्कृतिक पहिचान तथा वैवाहिक जीवनका उतारचढावलाई चित्रण गरेको छ।
त्यसैगरी, चलचित्र विकास बोर्डका अनुसार यस वर्ष प्रदर्शन भएका फिल्ममध्ये केहीले मात्र अपेक्षित सफलता हासिल गरेका छन् भने बाँकी फिल्म व्यापारिक रूपमा कमजोर देखिएका छन्।
