हङकङमा ‘लाहुरेनी सौन्दर्य’ कृतिको लोकार्पण
काठमाडौं। हङकङ साहित्यिक साझा श्रृङ्खलाकी संयोजक तथा लेखक जुनू रानाको दोस्रो कृति ‘लाहुरेनी सौन्दर्य’ सार्वजनिक गरिएको छ।
याउ चि मोङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङको प्रमुख आतिथ्यतामा जोर्डनस्थित एभरेस्ट रेस्टुरेन्टको सभाहलमा आयोजित समारोहमा पुस्तक लोकार्पण गरिएको हो। कार्यक्रमको अध्यक्षता स्वयं लेखक जुनू रानाले गरेकी हुन् ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा साहित्यिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वुमन कमिसन तथा इथनिक माइनोरिटी कमिटीका सदस्य रिता गुरुङ, गैरआवासीय नेपाली संघका अध्यक्ष अनु राई, उपाध्यक्ष कविता गुरुङ, महिला संयोजक सत्या गहतराज, नेपाली महासंघका अध्यक्ष नवीन सुहाङ लगायत सहभागी थिए।
त्यसैगरी किरात राई यायोक्खा, किरात राई प्रज्ञा प्रतिष्ठान, लोहोरुङ समाज लगायतका संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न साहित्यकार, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
पुस्तकमाथि डा. चुरा थापा, राजकुमार राई, डा. टीका राना र जानु काम्बाङले समीक्षा प्रस्तुत गरेका थिए।
३४ वटा लेख समेटिएको उक्त कृति कुनै एक विधामा सीमित नरही विविध विषयवस्तुमा आधारित रहेको समीक्षकहरूले बताएका छन्। समीक्षक राजकुमार राईका अनुसार पुस्तकले फरक–फरक रुचिका पाठकलाई आकर्षित गर्ने क्षमता राख्दछ।
त्यस्तै जानु काम्बाङले कृतिले लाहुरे पुर्खाको इतिहास उजागर गर्नुका साथै ग्रामीण जीवनको झल्को दिएको बताइन्। डा. टीका रानाले लेखिकामा समाजका गहिरा विषयवस्तु उठान गर्ने विशेष क्षमता रहेको धारणा व्यक्त गरिन्।
