ज्ञानेन्द्र शाहीलाई मनिष झाको प्रश्न : ‘ट्रम्पले हेलिकप्टर पठाइदिन्छु भन्दा पत्याउनुहुन्छ?’(भिडियाे)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले उपसभामुख पदका लागि राप्रपालाई सघाउने विषयमा पार्टीभित्र कुनै छलफल नभएको स्पष्ट पारेका छन्।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। यसअघि राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएपछि आफूहरूले उपसभामुखमा उम्मेदवारी दिएको दाबी गरेका थिए।
त्यस विषयमा प्रतिक्रिया दिँदै झाले भने, ‘उहाँले कुन आधारमा यस्तो भन्नुभएको हो, कससँग कुरा भएको हो, मलाई जानकारी छैन। ट्रम्पसँग कुरा भाथ्यो हिजो। दुइवटा हेलिकप्टर पठाइदिन्छु भन्नुभाथ्यो, पठाउनुभएन भन्दैमा तपाईं पत्याउनुहुन्छ ? बिना प्रमाणका कुरा पत्याउन सकिँदैन।’
उनले आफ्नै उपस्थितिमा पार्टी सभापतिसँग उक्त विषयमा कुनै छलफल नभएको पनि स्पष्ट पारे।
झाले अगाडि भने, ‘मेरो उपस्थितिमा त्यस्तो कुनै संवाद भएको छैन। त्यसैले म त्यसबारे जानकार छैन। मेरो अनुपस्थितिमा के कस्तो कुरा भयो भन्नेबारे पनि म भन्न सक्दिनँ। उहाँले दाबी गरेजस्तो कुनै औपचारिक छलफल वा एजेन्डा पार्टीभित्र थिएन।’
