`

आखिर कसले बनायो ‘बिटकोइन’ ?

Nepal One HD २७ चैत २०८२ १६:२०
अर्थ समाचार

एजेन्सी । बिटकोइनको वास्तविक निर्माता को हो ?  कसले बनायो बिटकोइन ? भन्ने रहस्य १५ वर्षभन्दा बढी समय बितिसक्दा पनि अझै  सुल्झिएको छैन ।

हालै न्युयोर्क टाइम्सको एक अनुसन्धान प्रतिवेदनले ब्रिटिस क्रिप्टोग्राफर एडम ब्याकनै सतोशी नाकामोतो हुन सक्ने दाबी गरेको छ। तर एडम ब्याकले यी दाबीहरू अस्वीकार गरेका छन्।

पत्रकार जोन क्यारिरू ले सतोशी नाकामोतोको पहिचान खोज्न आर्टिफिसियल इन्टेलिजेन्स को सहयोग लिएका थिए। उनले सन् १९९२ देखि २००८ सम्म क्रिप्टोग्राफी समूहहरूमा आदान-प्रदान भएका हजारौं इमेलहरूको शैलीगत विश्लेषण गराएका थिए।

आर्टिफिसियल इन्टेलिजेन्स विश्लेषण अनुसार सतोशीको लेखन शैली, शब्द चयन र व्याकरणगत त्रुटिहरू एडम ब्याकसँग केही हदसम्म मिल्दोजुल्दो देखिएको दाबी गरिएको छ। उदाहरणका लागि, सतोशीले हाइफन प्रयोग नगर्ने र ‘इट्स’ तथा ‘इट’स’ प्रयोगमा गल्ती गर्ने प्रवृत्ति देखाउने उल्लेख छ।

एडम ब्याकलाई सतोशी हुन सक्ने आधारका रूपमा प्रस्तुत गरिएका मुख्य तीन कारण  छन्, पहिलो, ह्यासक्यास प्रविधि। एडम ब्याकले विकास गरेको यो प्रूफ अफ वर्क प्रणाली पछि बिटकोइन माइनिङमा प्रयोग भएको मानिन्छ।

दोस्रो, ब्लकस्ट्रिम कम्पनी। एडम ब्याक यस कम्पनीका प्रमुख हुन्, जसले ब्लकचेन पूर्वाधारमा काम गर्छ। तेस्रो, उनी साइफरपंक समुदायसँग सम्बन्धित क्रिप्टोग्राफर भएकाले शंकाको दायरामा परेका हुन्।

तर एडम ब्याकले यी सबै समानतालाई संयोग मात्र भन्दै अस्वीकार गरेका छन्। उनका अनुसार एउटै क्षेत्रका विशेषज्ञहरूबीच लेखन शैली मिल्नु स्वाभाविक हो।

अनुसन्धानमा सतोशी नाकामोतोको लेखन शैली विश्लेषण गर्दै हजारौं सम्भावित व्यक्तिहरूलाई क्रमशः फिल्टर गरिएको थियो। यस क्रममा शब्द प्रयोग, हाइफन शैली, ब्रिटिस वा अमेरिकी हिज्जे र वाक्य संरचना आधार बनाइयो।

तर यति विश्लेषणका बाबजुद पनि सतोशी नाकामोतोको वास्तविक पहिचान अझै निश्चित रूपमा पुष्टि हुन सकेको छैन।

सतोशी नाकामोतो बिटकोइनको श्वेतपत्र प्रकाशित गर्ने व्यक्ति हुन्, जसले सन् २००८ मा पहिलो विकेन्द्रीकृत डिजिटल मुद्रा प्रणाली प्रस्तुत गरेका थिए।

केही विशेषज्ञहरू त सातोशी नाकामोतो एकल व्यक्ति नभई समूह पनि हुन सक्ने तर्क गर्छन्। बिटकोइनको कोड र अवधारणाको जटिलता हेर्दा यस्तो सम्भावना बलियो देखिने उनीहरूको भनाइ छ।

यसैबीच केहीले सातोशीको पहिचान खुलाउनु आवश्यक छैन भन्ने पनि तर्क गर्छन्। उनीहरूका अनुसार बिटकोइनको मूल दर्शन नै विकेन्द्रीकरण र गुमनामतामा आधारित भएकाले यसको स्रष्टाको पहिचान सार्वजनिक हुनु जरुरी छैन।

समग्रमा न्युयोर्क टाइम्सको पछिल्लो अनुसन्धानले बिटकोइनका स्रष्टाबारेको बहसलाई पुनः ताजा बनाएको छ। तर एडम ब्याकको अस्वीकार र ठोस प्रमाणको अभावका कारण यो रहस्य अझै पूर्ण रूपमा सुल्झिएको भने छैन। सातोशी नाकामोतो को हुन् भन्ने प्रश्न अझै पनि आधुनिक प्रविधि र वित्तीय इतिहासकै सबैभन्दा ठूलो अनुत्तरित रहस्यहरूमध्ये एक बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *