`

सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन

Nepal One HD २७ चैत २०८२ २०:५०
प्रमुख खबर

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने उद्देश्यले राखिएका प्रचार प्रसार गर्ने बोर्ड, होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखनलगायतका सामग्री तीन दिनभित्रमा हटाउन सम्बन्धित सबै व्यवसायी, साइबर, संस्था तथा व्यक्तिहरूलाई निर्देशन दिएको छ । अन्यथा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्ने विभागले जनाएको छ ।

विभागले आज सूचना जारी गरी श्रम स्वीकृतिसम्बन्धी कार्य प्रचलित कानुन बमोजिम वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयहरुबाट मात्र हुने व्यवस्था रहेको उल्लेख गर्दै सो काममा भ्रम सिर्जना गर्ने गरी हुने गरेका त्यस्ता लेखन तथा प्रचारप्रसार तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

“विभागको कार्यालय प्रवेश गर्ने बाटो वरपर तथा अन्य स्थानमासमेत रहेका केही साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थाहरूले ‘यहाँ श्रम गरिन्छ’ वा ‘श्रम स्वीकृति सम्बन्धी कार्य गरिन्छ’ वा ‘श्रम अनलाइन फाराम भरिन्छ’ वा यस्तै अन्य ‘श्रम’ शब्दको प्रयोग गरी प्रचार–प्रसार गरी वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने, आकर्षण गर्ने, रकम असुल गर्ने वा बिचौलियाको रूपमा समेत कार्य गर्ने भन्ने गुनासो तथा जानकारी प्राप्त भएकोमा यस विभागको ध्यानाकर्षण भएको छ”, सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *