स्वास्थ्य मन्त्रालयले सोध्यो जनस्वास्थ्य प्रशासक र बीमा बोर्डका निर्देशकलाई स्पष्टीकरण
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्पष्टीकरण सोधेको छ। मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिसम्बन्धी विषयमा उनीहरूलाई तीन दिने समयसीमा दिएर स्पष्टीकरण माग गरेको हो।
स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्ति, बैठकमा उपस्थिति तथा माइन्युटसम्बन्धी विषयमा सञ्चारमाध्यममा आएका विवरणपछि मन्त्रालयले स्पष्टिकरण लिएको जनाएको छ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत दिपेन्द्र दहालद्वारा हस्ताक्षरित पत्रमा उनीहरूको संलग्नता र भूमिकाबारे स्पष्ट पार्दै तीन दिनभित्र जवाफ पेस गर्न भनिएको छ।
सञ्चारमाध्यममा सार्वजनिक विवरणअनुसार बोर्डको माइन्युट, निर्णय तथा उपस्थितिसँग सम्बन्धित कागजात मिलाउने कार्यमा कर्मचारीहरूको भूमिका रहेको उल्लेख गरिएको थियो।
यसअघि निष्क्रिय भइसकेका बोर्ड सदस्य जुनु श्रेष्ठलाई पुनः बैठकमा सहभागी गराइएको विषयमा पनि विवाद उत्पन्न भएको थियो। जुनु श्रेष्ठ हालै पदमुक्त भएका मन्त्री दीपक साहकी श्रीमती हुन्। उनलाई लामो समयदेखि निष्क्रिय रहेको पदमा पुनः सक्रिय गराएको भन्दै आलोचना भएपछि मन्त्रालयले स्पष्टीकरण प्रक्रिया अघि बढाएको हो।
