`

कवि श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक

Nepal One HD २९ चैत २०८२ ११:०५
समाचार

काठमाडौं। कवि तथा गीतकार श्रवण मुकारुङ यसपटक आख्यानकारका रूपमा नयाँ उपन्यास ‘सलह’ लिएर पाठकमाझ आएका छन्। उक्त कृति शनिबार काठमाडौँमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो।

उपन्यासकार मुकारुङले आफ्नो कृति चलचित्र निर्देशक रामबाबु गुरुङ, संगीतकार कालीप्रसाद बाँसकोटा र श्रीमती गीता थापा मगरलाई उपहार दिँदै संयुक्त रूपमा लोकार्पण गरेका थिए। नेपालय द्वारा प्रकाशित ४३६ पृष्ठको ‘सलह’को मूल्य ९९५ रुपैयाँ राखिएको छ।

कार्यक्रममा बोल्दै मुकारुङले विद्यालय जीवनमै लेखन यात्रा सुरु भएको स्मरण गरे। कक्षा ७ मा ‘हुलाकी बन्ने धोको’ निबन्ध र कक्षा ९ मा ‘अस्तित्व’ नाटक लेख्दै आफू आख्यानतर्फ आकर्षित भएको उनले बताए। लोकार्पणका क्रममा उनले बुबालाई सम्झिँदै भावुक बने र कल्पना तथा स्मृतिले नै मानिसलाई जीवन्त बनाइराख्ने विचार व्यक्त गरे।

उनका अनुसार ‘सलह’ चार दशक लामो साहित्यिक यात्राको अनुभवमा आधारित कृति हो। उनले भने, ‘निबन्ध, नाटक, कविता, गीत, कथा र चलचित्र हुँदै अहिले म उपन्यास ‘सलह’ लिएर आएको छु।’

काठमाडौँ आएपछि रत्न राज्यलक्ष्मी क्याम्पस मा अध्ययनका क्रममा ‘आजकल रानीपोखरीमा’ कविता लेखेर प्रशंसा पाएपछि आफू कविता लेखनतर्फ मोडिएको पनि उनले बताए।

कार्यक्रममा उनले आफ्नो चर्चित कविता ‘बिसे नगर्चीको बयान’ स्मरण गर्दै जनआन्दोलन २०६२/०६३ का बेला यसले आन्दोलनलाई ऊर्जा दिएको उल्लेख गरे। वर्तमान अवस्थातर्फ संकेत गर्दै उज्यालो खोज्दा अँध्यारो पनि आउन सक्ने उनले बताए।

विमल आचार्य ले कार्यक्रमलाई सम्बोधन गर्दै मुकारुङको लेखनले साहित्यलाई विचार र शैली दुवै दृष्टिले समृद्ध बनाएको बताए।

मुकारुङले आफ्नो साहित्यिक यात्रामा प्रकाशित ‘देश खोज्दै जाँदा’, ‘जीवनको लय’, ‘बिसे नगर्चीको बयान’ (कविता संग्रह) तथा ‘हिउँको दरबार’ र ‘सुन रे सियाराम’ (गीत संग्रह)को पनि कार्यक्रममा चर्चा गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *