`

दिग्गज गायिका आशा भोस्लेको निधन

Nepal One HD २९ चैत २०८२ १३:४४
प्रमुख खबर

काठमाडौं। भारतीय पार्श्व गायनकी शिखर व्यक्तित्व आशा भोस्लेको आइतबार मुम्बईमा निधन भएको छ। ९२ वर्षीया भोस्लेलाई अत्यधिक थकान र छातीमा संक्रमण भएपछि शनिबार साँझ मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालले आइतबार उनको निधन भएको पुष्टि गरेको हो। यसअघि उनकी नातिनी जनाई भोस्लेले सामाजिक सञ्जाल एक्स मार्फत उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै गोपनीयता कायम गरिदिन र स्वास्थ्य लाभको कामना गरिदिन अनुरोध गरेकी थिइन्।

८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रको साङ्लीमा जन्मिएकी आशा भोस्ले शास्त्रीय गायक तथा अभिनेता पण्डित दीनानाथ मङ्गेशकरकी छोरी हुन्। उनी ९ वर्षको हुँदा पिताको निधन भएपछि उनको परिवार कोल्हापुर र पछि मुम्बई बसाइँ सरेको थियो।

दिदी लता मङ्गेशकरसँगै उनले कलिलै उमेरदेखि गायन यात्रा सुरु गरेकी थिइन्। सन् १९४३ मा मराठी फिल्म ‘माझा बाल’ बाट गायन यात्रा सुरु गरेकी उनले १९४८ मा फिल्म ‘चुनरिया’ मार्फत हिन्दी सिनेमामा प्रवेश गरेकी थिइन्।

शास्त्रीय संगीत, गजल, भजनदेखि आधुनिक पप र क्याबरेट गीतसम्ममा उत्तिकै दख्खल राख्ने भोस्लेले २० भन्दा बढी भाषामा १२,००० भन्दा बढी गीत रेकर्ड गराएकी छिन्। उनले ओ.पी. नय्यर, आर.डी. बर्मन  र ए.आर. रहमान जस्ता संगीतकारसँग मिलेर धेरै सदाबहार गीतहरू दिएकी थिइन्।

‘चुरा लिया है तुमने जो दिल को’, ‘दम मारो दम’ र ‘दिल चीज क्या है’ जस्ता गीतहरूले उनलाई विश्वभरका संगीतप्रेमीमाझ अमर बनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *