ट्याक्टरबाट खसेर मृत्यु
झापा । कन्काई नगरपालिका-४ को कोटीहोम क्षेत्रमा मलामी बोकेको ट्याक्टरबाट खस्दा एकजनाको ज्यान गएको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत दुर्गापुरबाट माइखोलातर्फ करिब १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टरबाट खस्दा सहचालक २५ वर्षीय विनोद दनुवार गम्भीर घाइते भएका थिए। उनी कन्काई नगरपालिका–१का बासिन्दा हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष राईका अनुसार सोमबार दिउँसो करिब २ बजे उक्त घटना भएको हो। दुर्घटनापछि घाइते दनुवारलाई उपचारका लागि कन्काई नगर अस्पताल, सुरुङ्गा लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएको थियो।
तर उपचारकै क्रममा गए राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि ट्याक्टर चालक ३० वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
