इरानमा पक्राउ परेका नेपाली पाइलट अमृत झाको रिहा
काठमाडौं । इरानमा पक्राउ परेका नेपाली युवा पाइलट अमृत झा रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार उनी इरानस्थित मानार्थ महावाणिज्य दूतावास र कतार दूतावाससँग सम्पर्कमा रहेका छन्।
उनलाई इरानबाट बाहिर ल्याउने काम भइरहेको पनि मन्त्री खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
झा मध्यपूर्वमा तनाव सुरु हुनुभन्दा पहिले नै पक्राउ परेका हुन्।
परराष्ट्रमन्त्री खनालले सामाजिक सञ्जाल फेसबुकमा बुधबार साँझ लेखेका छन्, ‘अमृत झा, जसलाई इरानमा नियन्त्रणमा लिइएको थियो, उनी रिहा भएका छन्। इरानस्थित हाम्रो मानार्थ वाणिज्यदूतावास र कतारस्थित नेपाली दूतावास उनीसँग सम्पर्कमा छन्। हाम्रो टोली उनलाई इरानबाट बाहिर ल्याउन काम गरिरहेको छ।’
यसैबीच, इजरायल-अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न स्थानमा मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अविवमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १९१ शव नेपाल ल्याउन बाँकी छन्।
