`

इरानसँग सम्झौतामा निकै नजिक पुगे अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

Nepal One HD ४ वैशाख २०८३ ९:५८
प्रमुख खबर

काठमाडौं । इजरायल र लेबनानबीच १० दिने युद्धविराम भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा युद्धविराम सम्भव भएको हो। लेबनानमा युद्धविराम लागू भएसँगै राजधानी बेरुतका केही क्षेत्रमा उत्सवका रूपमा गोली प्रहार र रकेट विस्फोटका आवाज सुनिएको जनाइएको छ।

यद्यपि, अवस्था अझै संवेदनशील रहेको छ। लेबनानी सेनाले शुक्रबार बिहान इजरायलले युद्धविराम उल्लंघन गर्दै दक्षिणी गाउँहरूमा छिटफुट गोलाबारी गरेको आरोप लगाएको छ। इजरायली सेनाले भने यसबारे तत्काल प्रतिक्रिया नदिए पनि आफ्नो फौज क्षेत्रमै तैनाथ रहेको जनाएको छ।

हिज्बुल्लाहले विज्ञप्ति जारी गर्दै युद्धविराम लागू हुनुभन्दा १० मिनेटअघि आफ्नो अन्तिम आक्रमण भएको जनाएको छ। त्यसपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत हिज्बुल्लाहलाई युद्धविराम पालना गर्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘अब हत्या रोक्नुपर्छ, अन्ततः शान्ति आवश्यक छ।’

यसैबीच, ट्रम्पले अमेरिका र इरानबीच आगामी सप्ताहन्तमा अर्को चरणको वार्ता हुन सक्ने संकेत दिएका छन्, जसले इरानसँगको युद्ध अन्त्य नजिक पुगेको देखाएको छ। उनका अनुसार इरानले २० वर्षभन्दा बढी समयसम्म परमाणु हतियार नबोक्ने प्रस्ताव अघि सारेको छ।

गत सप्ताहन्त पाकिस्तानको इस्लामाबादमा भएको वार्तामा तेहरानको परमाणु कार्यक्रम मुख्य विवादको विषय बनेको थियो। ट्रम्पले ‘हामी नजिक पुगेका छौं, इरानसँग सम्झौता सम्भव देखिन्छ’ भन्दै युद्ध चाँडै अन्त्य हुन सक्ने संकेत गरेका थिए।

फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि सुरु भएको इरानसँगको युद्धमा हजारौँको मृत्यु भइसकेको बताइएको छ। यस युद्धका कारण तेलको मूल्यमा तीव्र वृद्धि भएको र अमेरिकी प्रशासनमाथि राजनीतिक दबाब पनि बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *