सुर्खेतमा नबिलको निःशुल्क जलन उपचार शिविर : १९४ जना लाभान्वित
काठमाडौं। सुर्खेतस्थित प्रादेशिक अस्पतालमा सञ्चालन गरिएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् ।
प्रादेशिक अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा गत चैत २७ देखि तीन दिनसम्म शिविर सञ्चालन गरिएको हो ।
शिविरमा आएका ३९ जना बिरामीको विशेषज्ञ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ। जटिल अवस्थाका एक जना बिरामीलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा रेफर गरिएको छ। आर्थिक अवस्था कमजोर भएका तथा लामो समयदेखि उपचार नपाएका बिरामीहरूले यस शिविरमार्फत निःशुल्क सेवा पाएका थिए।
सिन्जा गाउँपालिका-५ की सम्झना रोकायाले शल्यक्रियापछि आफ्नो अवस्थाबारे प्रतिक्रिया दिँदै हात चलाउन नसक्ने अवस्था सुधार भएको र अब दैनिक काम आफैं गर्न सक्ने विश्वास जागेको बताइन्। उनले उपचारमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा जलन पीडितलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताए। उनले आगामी दिनमा यस्ता कार्यक्रम लुम्बिनी र मधेश प्रदेशमा पनि विस्तार गरिने जानकारी दिए।
फेक्ट नेपाल र कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राई सहित विशेषज्ञ चिकित्सकहरूको टोलीले शिविरमा शल्यक्रिया तथा उपचार सेवा प्रदान गरेको थियो।
शिविर सञ्चालन गर्नुअघि कर्णालीका विभिन्न जिल्लाका १६ स्थानमा प्रारम्भिक परीक्षण (स्क्रिनिङ) शिविर सञ्चालन गरिएको थियो, जहाँ स्वास्थ्यकर्मीहरूले बिरामीहरूको पहिचान र विवरण संकलन गरेका थिए।
प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक डा. गणेश थापाले दुर्गम क्षेत्रमा अझै पनि धेरै मानिसहरू उचित उपचारबाट वञ्चित रहेको उल्लेख गर्दै यस्ता शिविरले ठूलो राहत दिएको बताए।
यसअघि बैंकले सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि यस्तै निःशुल्क जलन उपचार शिविर सञ्चालन गरेको थियो, जसबाट ६५ जना बिरामीले सेवा पाएका थिए।
