`

‘लालीबजार’को ट्रेलर युट्युब ट्रेन्डिङमा प्रवेश

Nepal One HD ६ वैशाख २०८३ १२:५८
चलचित्र

काठमाडौं।  गत शुक्रबार वैशाख ४ गते सार्वजनिक गरिएको नेपाली फिल्म ‘लालीबजार’ को ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ता र सेलिब्रेटीहरूले समेत ट्रेलर र यसको विषयवस्तुको प्रशंसा गरिरहेका छन्।

षट्कोण आर्ट्सले निर्माण गरेको यो फिल्मको ट्रेलर सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङ चार्टमा प्रवेश गर्न सफल भएको छ। हाल ट्रेलर मुभी चार्टमा नम्बर ३ स्थानमा रहेको छ।

ट्रेलरमा देखाइएको आमा र छोरीबीचको भावनात्मक कथाले दर्शकको ध्यान आकर्षित गरेको छ। विशेषगरी अभिनेत्री स्वस्तिमा खड्काको बादी समुदायकी आमाको भूमिकामा गरिएको अभिनयको व्यापक प्रशंसा भइरहेको छ।

ट्रेलरमा रवीन्द्र सिंह बानियाँ, बाल कलाकार समाइरा थापा, तथा डेब्यु कलाकार प्रशंसा सुवेदी र विशाल देवकोटाको अभिनयलाई पनि सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। फिल्मले बादी समुदायमा विद्यमान सामाजिक कुप्रथा ‘नाथिया’ लाई समेत उजागर गरेको छ।

आमाले छोरीको रक्षाका लागि गर्ने संघर्षलाई मुख्य विषय बनाइएको फिल्म यम थापाको निर्देशनमा तयार भएको हो। निर्देशक प्रदीप भट्टराईले कार्यकारी भूमिकामा रहेर कथा विकासमा सहयोग गरेका छन्।

यसअघि सार्वजनिक भएका फिल्मका दुई गीतहरू ‘मायालाई के दिउँ म बैना’ र ‘मिठो संसार’ पनि दर्शकमाझ लोकप्रिय बनेका छन्। फिल्मको प्रदर्शन मिति २०८३ वैशाख १८ गते तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *