बर्डफ्लु : १ लाख ३० हजारभन्दा बढी कुखुरा नष्ट
काठमाडौं। नेपालमा बर्डफ्लु संक्रमण फैलिँदै गएको छ। सरकारको द्रुत प्रतिकार्य टोली र राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीको पछिल्लो प्रतिवेदन अनुसार हालसम्म ६ जिल्लामा संक्रमण पुष्टि भएको छ।
यस आर्थिक वर्षको पहिलो संक्रमण २०८२ चैत ४ गते कोशी प्रदेशको मोरङ जिल्लाको सुन्दरहरैँचा-४ र उर्लाबारी-८ बाट सुरु भएको थियो। त्यसपछि रोग विस्तार हुँदै विभिन्न प्रमुख पोल्ट्री क्षेत्रसम्म पुगेको छ।
हालसम्म देशभर ३३ वटा पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भइसकेको छ। संक्रमण नियन्त्रणका लागि सरकारले हालसम्म १ लाख ३० हजारभन्दा बढी कुखुरा नष्ट गरेको छ। साथै २ लाख ३७ हजारभन्दा बढी अण्डा र करिब ३३ हजार केजी दाना समेत सुरक्षित रूपमा नष्ट गरिएको छ।
जिल्लागत विवरण अनुसार सुनसरी सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ, जहाँ १७ वटा फार्ममा संक्रमण देखिएको छ। मोरङमा १० फार्मका ५३ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ।
अन्य प्रभावित जिल्लाहरूमा चितवन, झापा, बारा र नवलपरासी (पश्चिम) रहेका छन्। चितवनमा एउटा फार्ममै करिब १८ हजार कुकुरा नष्ट गरिएको छ भने झापामा तीन फार्मका १५ हजारभन्दा बढी कुखुरा मारिएका छन्। बारा र नवलपरासीमा पनि सयौं कुखुरा नष्ट गरिएको छ।
संक्रमण थप फैलिन नदिन प्रभावित क्षेत्रहरू सिल गरिएको छ। तीनै तहका सरकारको समन्वयमा सुरक्षात्मक र नियन्त्रणका उपायहरू अपनाइएको सम्बन्धित निकायले जनाएको छ।
