`

मदनकृष्णलाई ‘ललित रत्न’ उपाधिले सम्मान

Nepal One HD ८ वैशाख २०८३ १८:१४
चलचित्र

काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई जन्मदिनको अवसरमा ‘ललित रत्न’ उपाधिले सम्मान गरिएको छ । ललितपुर महानगरपालिका-१६ वडा कलाकार समितिले पाटन दरबार क्षेत्रमा आयोजना गरेको नागरिक अभिनन्दन तथा सांस्कृतिक-सांगीतिक कार्यक्रममा उनलाई उक्त उपाधि प्रदान गरिएको हो ।

अक्षय तृतीयाको दिन आयोजित कार्यक्रममा विभिन्न संघ-संस्थाहरूको सहभागितामा कलाकार श्रेष्ठलाई परम्परागत नेवारी सांस्कृतिक शैलीमा सम्मान गरिएको थियो । धाःबाजा, चर्या नृत्य तथा परम्परागत सगुनसहित स्वागत गरिएको कार्यक्रममा सयौँ कलाकार, स्थानीयवासी र संस्थागत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मदनकृष्ण श्रेष्ठका चर्चित गीतहरू समेत प्रस्तुत गरिएको थियो । उनले ‘अरबौं मान्छेहरूमा’, ‘फुलबुट्टे साडी’, ‘खोलावारी खोलापारी’ लगायत गीतहरू प्रत्यक्ष गाएका थिए । साथै, नेपालभाषाका गीतहरूमा पनि प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन दिएका थिए ।

ललितपुर महानगरपालिका-१६ का वडा अध्यक्ष निर्मलरत्न शाक्य, कलाकार समितिका पदाधिकारीहरू तथा परिवारजनको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा रक्तदान कार्यक्रमसमेत गरिएको थियो ।

आयोजक ललितपुर महानगरपालिका-१६ वडा कलाकार समितिले स्थानीय स्तरमै कलाकारको पहिचान, नवप्रतिभा प्रोत्साहन तथा वरिष्ठ कलाकारहरूको सम्मानलाई निरन्तरता दिँदै आएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *