`

सुकुम्बासी वस्ती हटाउनु भन्ने निर्देशनपछि बालेनको चौतर्फी विरोध

Nepal One HD १० वैशाख २०८३ ११:४६
समाचार

काठमाडौँ। सरकारले थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती बलपूर्वक हटाउने तयारी गरेपछि ‘जेनजेड रेड फोर्स नेपाल’ले कडा आपत्ति जनाएको छ।

बुधबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुरक्षा निकायका प्रमुखलाई सिंहदरबार बोलाएर यही शनिबार र आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको उक्त निर्णयप्रति प्रतिक्रिया दिंदै जेनजेड फोर्सकी केन्द्रीय संयोजक स्मृति तिमल्सिनाले विज्ञप्ति जारी गरेको छ। उनले निर्वाचनका बेला सुकुम्बासी बस्तीमा पुगेर गरेका प्रतिवद्धता सम्झन प्रधानमन्त्री बालेन र सत्तारुढ रास्वपा सभापति रवि लामिछानेलाई आग्रह गरेकी छन्।

‘वर्तमान प्रधानमन्त्री बालेन शाहले अतिक्रमित सुकुम्बासी बस्ती शनिबार र आइतबारभित्र खाली गराउन दिएको आदेशप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा विगतको निर्वाचनका क्रममा बालेन शाह, रवि लामिछाने तथा अन्य सत्तारुढ नेताले सुकुम्बासी बस्तीमै पुगेर दिएका अभिव्यक्ति ‘हामी सुकुम्बासी हटाउँदैनौँ, डोजर चलेमा आफैँ छाती थाप्न आउँछौँ’ समेत स्मरण गराइएको छ।

उनको यो निर्णयको अरु विभिन्न जेनजी समुहहरुले पनि विरोध जनाइरहेका छन्। तर बालेन भने पछि हट्ने मनस्थितिमा छैनन्।  महानगरको मेयर हुँदा भत्काउन नपाएका उनले यसपटक भने सुकुम्बासी वस्तीहरुलाई जसरी पनि भत्काईछाड्ने संकेत देखाएका छन्। 

प्रधानमन्त्रीको निर्देशनपछि चौतर्फी विरोध चर्किंदै गएको छ। उचित व्यवस्थापनबिना हतारमा बस्ती हटाउने निर्णयले सरकार आफैँलाई अप्ठ्यारोमा पार्ने चेतावनी आलोचकहरूले दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *