`

अनुगमनमा कडाइ, ११ अवैध स्वास्थ्य संस्था शील

Nepal One HD ११ वैशाख २०८३ १०:४१
जीवनशैली/स्वास्थ्य

जनकपुरधाम। सर्लाही सदरमुकाम मलङ्गवामा अवैध रूपमा सञ्चालन हुँदै आएका ११ वटा स्वास्थ्य संस्था शील गरिएको छ। दर्ता नगरी सञ्चालनमा रहेको तथा मापदण्ड उल्लङ्घन गरेको पाइएपछि अनुगमन टोलीले कारबाही गरेको हो।

जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक, स्वास्थ्य कार्यालय, नगरपालिका, प्रादेशिक अस्पताल तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा ती संस्था बन्द गरिएका हुन्। सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार दर्ता नै नभएका र नियमविपरीत सञ्चालन भइरहेका स्वास्थ्य संस्थामाथि कडाइ गरिएको बताए।

अनुगमनका क्रममा सर्लाही पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर, ठाकुर सेवा उपचार, कल्याण हेल्थ केयर, सिद्धि गणपति पोलिक्लिनिक, प्रेमा हेल्थ केयर सेन्टर, अन्जली पोलिक्लिनिक, महतो क्लिनिक तथा निलम फार्मेसी, माली मेडिकल, जय माँ सुनैना हेल्थ केयर, लाइफ लाइन मेडिमेयर पोलिक्लिनिक र एउटा नामविहीन अल्ट्रासाउन्ड क्लिनिक शील गरिएको छ।

शील गरिएका संस्थामध्ये चारवटा दर्ता नै नभएको पाइएको छ भने बाँकी सातवटा संस्थाका सञ्चालक अनुगमनको जानकारी पाएपछि सम्पर्कविहीन भएका छन्। सञ्चालक अनुपस्थित रहेका तथा संस्था बन्द अवस्थामा भेटिएकामा टोलीले शील गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार बिहानदेखि साँझसम्म १६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिएको थियो। तीमध्ये पाँचवटा दर्ता भएका संस्थालाई भने नवीकरण तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न एक साताको समय दिइएको छ।

यसअघि २०८१ फागुन अन्तिम साता तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहको नेतृत्वमा गरिएको अनुगमनमा पनि मलङ्गवाका अधिकांश स्वास्थ्य संस्था अवैध रहेको पाइएपछि १५ वटा अस्पताल बन्द गर्न निर्देशन दिइएको थियो। तर, त्यस्ता संस्थाहरू पुनः सञ्चालनमा आएको गुनासो बढ्दै गएको छ।

अवैध रूपमा सञ्चालित क्लिनिक तथा अस्पतालले बिरामीमाथि मनपरी उपचार गर्ने, चर्को शुल्क असुल्ने तथा अदक्ष जनशक्ति प्रयोग गर्ने जस्ता गम्भीर आरोप लाग्दै आएका छन्। केही महिनाअघि लालबन्दी–१ नवलपुरमा अवैध आयुर्वेद औषधालयमा उपचारका क्रममा एक किशोरीको मृत्यु भएको घटनाले समेत चिन्ता बढाएको छ।

स्थानीय तहको नियमित अनुगमन अभावका कारण यस्ता अवैध स्वास्थ्य संस्था फस्टाउँदै गएको स्थानीयवासीको गुनासो छ। विगतमा अनुगमनका क्रममा स्वास्थ्यकर्मीसँग विवाद र हातपात भएपछि जनप्रतिनिधिहरू समेत अनुगमनमा हिचकिचाउन थालेको बताइएको छ।

लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानीले पटक-पटक निर्देशन दिँदा पनि अवैध अस्पतालले अटेरी गर्दै आएको स्वीकार गरेका छन्। उनले अनुगमनलाई प्रभावकारी बनाउन सबै पक्षको समन्वय आवश्यक रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *