विश्व औलो दिवस: नवलपरासी पूर्वमा सात जना औलोका बिरामी भेटिए
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म सात औलो (मलेरिया) का बिरामी भेटिएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार चालु आर्थिक वर्षमा भेटिएका ती औलो रोगी भारतमा रोजगारी गरी फर्किएका पुरुष छन् ।
ती बिरामीमध्य भारतसँग सीमा जोडिएको विनयी त्रिवेणी गाउँपालिकामा चार रहेका छन् भने हुप्सेकोट गाउँपालिका र गैँडाकोट नगरपालिका एक, एक रहेका छन् । जिल्लामा विगतका वर्ष देखिनै औलो शून्य रहे पनि आयातित (अन्य देशमा सङ्क्रमण भई यहाँ आएको) बिरामी बर्सेनि फेला पर्ने गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले बताए ।
Yamaha“भारतमा कामका लागि गएर आफ्नो घर आउने क्रममा औलो रोग पत्ता लाग्ने बिरामी बर्सेनि देखिएको छ,” उनले भने, “यहाँ नै औलो लागेको बिरामी भेटिएको छैन ।”
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा आर्थिक वर्ष २०७७/०७८ मा तीन, २०७८/०७९ र २०७९/०८० मा छ/छ, २०८०/०८१ मा चार जना र २०८१/०८२ मा १० औलोका बिरामी देखिएको थियो ।
“विगत छ वर्षका सबै केश आयातित नै रहेका छन्, आयातित औलो निवारण नै नेपालका लागि मुख्य चुनौती बनेको छ,” उनले भने ।
नेपालमा स्थानीय औलोलाई शून्यमा पुराउन औलो बिरामीको खोजपड्ताल तथा औलो निवारणका लागि आवश्यक सूचना प्रदान गर्ने गरिएको छ । लामखुट्टेको टोकाइबाट नै यस्ता रोग फैलने हुँदा यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने निरीक्षक तिवारीले बताए ।
औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलज’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । औलो सामान्य र कडा लक्षणसहितका गरी दुई प्रकारका हुन्छन् । जसलाई समयमै उपचार नगरे ज्यानै जान सक्ने तिवारीले बताए ।
