सलमानसँग फिल्म खेल्दै अनुपविक्रम
काठमाडौं। नेपाली अभिनेता अनुपविक्रम शाहीले बलिउड फिल्म ‘मातृभूमि’को डबिङ पूरा गरेका छन्। सलमान खान फिल्म्सको ब्यानरमा निर्माण भएको उक्त फिल्ममा सलमान खान र अनुपविक्रम शाही मुख्य भूमिकामा देखिनेछन्।
अनुपले डबिङ मुम्बईको अँधेरीस्थित अम्पायर अडियो स्टुडियोमा सम्पन्न गरेका हुन्। फिल्मको प्रदर्शन मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। तर भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म भारतको स्वतन्त्रता दिवसको आसपास रिलिज हुन सक्ने अनुमान गरिएको छ।
नेपाली कलाकार शाहीको बलिउड प्रवेशलाई लिएर दर्शकमाझ उत्सुकता बढेको छ। यसलाई अन्तर्राष्ट्रिय बजारमा नेपाली कलाकारको उपस्थिति विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि हेरिएको छ।
यसैबीच, अनुपविक्रम शाहीले अर्को एक ठूलो बजेटको बलिउड फिल्ममा पनि अभिनय गर्ने पक्का भएको बताएका छन्। सो फिल्मको औपचारिक घोषणा आगामी अगस्ट वा सेप्टेम्बरमा हुने जनाइएको छ।
फिल्मी कामसँगै उनले ‘१२ गाउँ २’ को छायांकन २० वैशाखदेखि सुरु गर्ने तयारी गरेका छन्। हालै उनी यामाहाको ब्रान्ड एम्बेसडर समेत बनेका छन्।
