फिदिम खानेपानी समितिलाई फिदिम नगरपालिकाको १० लाखको पाइप सहयोग
पाँचथर । फिदिम नगरपालिकाले फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई करिब १० लाख रुपैयाँ बराबरको पाइप हस्तान्तरण गरेको छ ।
नगरपालिकाका प्रतिनिधि शान्तिराम तिम्सिनाले समितिका कोषाध्यक्ष दीपक बास्कोटालाई पाइप बुझाएका हुन्।
बास्कोटाका अनुसार २० एमएमको ९ हजार मिटर, ४० एमएमको १ हजार मिटर र २०० एमएमको ११४ मिटर पाइप नगरपालिकाले उपलब्ध गराएको हो ।
पाइप हस्तान्तरण समारोहमा फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङको पनि थिए ।
गत वर्षको असोज १८ र १९ गते परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले आप्तावा र तितेवा खोलाबाट आउने मुख्य खोला क्षेत्रमा क्षति पुर्याएको थियो।
१३ स्थानमा पाइपलाइन बगाएको थियो, जसकारण खानेपानी सेवा अवरुद्ध बनेको थियो। अहिले तितेवा र नाम्दु खोलाबाट बैकल्पिक रूपमा पानी ल्याएर उपभोक्ता समितिले पानी बितरण गर्दै आएको छ । नगरपालिकाको सहयोगसँगै अब भने पुनःनिर्माण कार्य सुरु हुने भएको छ ।
फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, उपभोक्ता समितिका अध्यक्ष गुरुङ, सचिव कमल बास्कोटा, सहसचिव डने शेर्पाको सक्रियतामा पुनःनिर्माणको काम अघि बढ्ने भएको हो ।
हाल नगरपालिका वडा नम्बर १, २ र ४ का २ हजार ९ सय ६४ घरधुरीमध्ये २ हजार ३ सय ३४ घरधुरीमा उपभोक्ता समितिले खानेपानी उपलब्ध गराउँदै आएको छ ।
यसैबीच, अध्यक्ष गुरुङको नेतृत्वको समितिले उपभोक्तालाई राहत दिने उद्देश्यले खानेपानीको महशुल घटाएको छ ।
बजार क्षेत्रमा प्रति महिना २८५ रुपैयाँ लिइँदै आएको महशुल घटाएर २४६ रुपैयाँ कायम गरिएको छ । ग्रामीण क्षेत्रमा २२१ रुपैयाँ निर्धारण गरिएको छ।
