१८ वर्षीया युवक मृत फेला
बाजुरा। बाजुरा र कालिकोटको सिमानामा पर्ने लौखूडाँडामा स्काभेटर दुर्घटना हुँदा बेपत्ता भएका १८ वर्षीय महेश रावल मृत फेला परेका छन्। बाजुराको जगन्नाथ गाउँपालिका-६ रावलवाडाका उनी दुर्घटनापछि हराइरहेका थिए।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कालिकोटको नरहरिनाथ गाउँपालिका-२ का २५ वर्षीय केशव विष्टले चलाएको प्रदेश ३-०१-००३ क ६३११ नम्बरको स्काभेटर सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनाका बेला स्काभेटरमा चालकसहित तीन जना सवार थिए। चालक र अर्का एक जना सकुशल रहे पनि रावल बेपत्ता भएका थिए।
खोजीका क्रममा स्काभेटर खसेको स्थानभन्दा करिब ३०० मिटर तल रावलको शव फेला परेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए।
लौखु जिरो प्वाइन्ट-कोल्टी सडक खण्डमा नयाँ सडक निर्माणका क्रममा खसालिएको माटोले कर्णाली करिडोर अवरुद्ध भएपछि सोही माटो पन्छाउन जाँदा स्काभेटर दुर्घटना भएको प्रहरीले जनाएको छ।
घटनापछि स्काभेटर चालक विष्टलाई कालिकोटको अस्थायी प्रहरी पोस्ट साजघाँटबाट नियन्त्रणमा लिइएको छ। मृतक रावलको शव पोस्टमार्टमका लागि कोल्टी आधारभूत अस्पताल पठाइएको छ भने अवरुद्ध सडक पनि खुलाइएको प्रहरीले जनाएको छ।
