`

एस अभिनित टक्सिकको रिलीज डेट सर्यो

Nepal One HD १६ वैशाख २०८३ १३:३०
चलचित्र

काठमाडौं। दक्षिण भारतीय सुपरस्टार यशको मुख्य भूमिका रहेको फिल्म ‘टक्सिकः ए फेयरी टेल फर ग्रोन–अप्स’ को प्रदर्शन मिति फेरि स्थगित गरिएको छ।

निर्माण कम्पनी केभीएन प्रोडक्सन र मोन्स्टर माइन्ड क्रिएशन्सले बुधबार सार्वजनिक जानकारी जारी गर्दै फिल्मको रिलिज तालिका परिवर्तन गरिएको घोषणा गरेका हुन्। पहिलेदेखि जुन ४, २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने तयारी भए पनि अब फिल्म नयाँ मितिमा रिलिज हुने भएको छ। नयाँ मिति यथाशीघ्र सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

निर्माताहरूका अनुसार हालै सिनेमाकनमा फिल्म प्रस्तुतीकरणपछि अन्तर्राष्ट्रिय वितरक तथा उद्योग क्षेत्रबाट निकै सकारात्मक प्रतिक्रिया प्राप्त भयो। यही उत्साहजनक प्रतिक्रियाका कारण फिल्मलाई अझ ठूलो अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने अवसर खुलेको बताउँदै रिलिज रणनीति पुनर्गठन गरिएको हो।

फिल्मको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ। हाल विश्वव्यापी वितरण अधिकार तथा अन्तर्राष्ट्रिय साझेदारीहरू टुंग्याउने अन्तिम प्रक्रिया चलिरहेको निर्माण कम्पनीले स्पष्ट पारेको छ।

अभिनेता यशले जारी गरेको वक्तव्यमा भनेका छन्, ‘कतिपय फिल्म हामी निर्माण गर्छौं, तर केही फिल्मले किन हामी सिनेमाप्रति प्रेम गर्छौं भन्ने कुरा फेरि सम्झाइदिन्छन्। ‘टक्सिक’ मेरो लागि त्यही यात्राको हिस्सा बनेको छ। सिनेमाकनमा फिल्म प्रस्तुत गर्दा प्राप्त विश्वव्यापी प्रतिक्रियाले हाम्रो विश्वास अझ मजबुत बनायो।’

उनले थपे, ‘भारतीय सिनेमा विश्वमञ्चमा द्रुतगतिमा अगाडि बढिरहेको यस अवस्थामा हामी सबैको जिम्मेवारी यसको स्तरलाई थप उचाइमा पुर्‍याउनु हो। अभिनेता र निर्माता दुवै भूमिकामा म यो अवसरलाई भारतीय फिल्म उद्योगका लागि गर्वको क्षण बनाउने प्रतिबद्धता रूपमा लिएको छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *