ब्रह्माण्डमा कुकुरहरू
काठमाडौं। मानव जातिले सधैं जिज्ञासा, आश्चर्य र विशाल ब्रह्माण्डमा आफ्नो स्थान बुझ्ने गहिरो चाहना राख्दै आएको छ। असंख्य ताराहरू, आकाशगंगाहरू र रहस्यमय ब्रह्माण्डीय घटनाहरूको बीचमा हामी प्रायः अपरिचित कुरालाई बुझ्न परिचित विचारहरूलाई प्रयोग गर्छौं।
यसै प्रवृत्तिको सबैभन्दा रोचक उदाहरणमध्ये एक हो-कुकुर । कुकुरहरू निःस्वार्थ प्रेम र निष्ठाको प्रतीक हुन्।
हालसम्म कुनै वैज्ञानिक प्रमाणले पृथ्वी बाहिर कुकुरजस्तो जीवन रहेको पुष्टि गरेको छैन तर ब्रह्माण्डमा कुकुरहरूको कल्पनाले दर्शन, विज्ञान, भावना र मानव कल्पनाशक्तिको दायरालाई भने बढाउदै लैजान्छ।
कुकुरहरू आदिम समयदेखि पृथ्वीमा बस्दै आएका छन्। र मानव जातीको ऐना जस्तै छन्। ढुङ्गे युगदेखि आधुनिक शहरी जीवनसम्म, कुकुरहरू केवल जनावर मात्र नभई मानव जीवनको सारथी जस्ता पनि देखिन्छन्। उनीहरूको निष्ठा र बुद्धिमत्ताले उनीहरूलाई अन्य प्रजातिहरूभन्दा विशेष बनाएको छ।
यही कारणले पनि मानव जातिले पृथ्वी बाहिरको ब्रमाण्डीय जीवनको कल्पना गर्दा पनि कुकुरहरू बाहिर रहदैनन् वा चाहेर पनि पर्दैनन् । यो केवल संयोग होइन, मानव जातिको भावनात्मक संरचनासँग जोडिएको कुरा हो। ब्रह्माण्डमा कुकुरको उपस्थिति आजपनि आत्मीयता र निष्ठाको प्रतीक जस्तो छ। यही कारणले भनिएको हुनुपर्छ- मानिस भन्दा कुकुर इमानदार हुन्छ।
कुकुरहरू मानव जातिसँग मात्र होइन, ब्रह्माण्डीय इतिहासको पनि साक्षी बनेका थुप्रै उदाहरण छन् । अन्तरिक्ष अनुसन्धानको प्रारम्भिक चरणमा वैज्ञानिकहरूले जीवित प्राणीहरू अन्तरिक्षको कठोर वातावरणमा कसरी प्रतिक्रिया गर्छन् भन्ने बुझ्न चाहन्थे। त्यस क्रममा कुकुरहरू अन्तरिक्षमा परीक्षण हुने पहिलो जीव बने।
लाइका- एक सडक कुकुर, जसलाई सन् १९५७ मा सोभियत अन्तरिक्षयानमार्फत कक्षामा पठाइएको थियो।लाइका- पृथ्वीको परिक्रमा गर्ने पहिलो जीवित प्राणी मानिन्छ । लाइकाको त्यो परिक्षणबाट नै मानव अन्तरिक्ष यात्राको ढोका खोलिदियो।
त्यसपछि अन्य कुकुरहरूले पनि विभिन्न वैज्ञानिक मिसनहरूमा सहभागी गराइएको छ । उनीहरूले वैज्ञानिक अन्वेषणमा गुरुत्वहीनता, तीव्र गति र विकिरणको प्रभाव अध्ययन गर्न ठुलो मद्दत गरेका छन् । यसरी कुकुरहरू कुकुरहरु मात्रै बनेनन्, उनीहरु पृथ्वीबाट ब्रह्माण्डतर्फ जाने पहिलो जीवित जीवन बने।
भनिन्छ- वैज्ञानिक युगभन्दा धेरै अघि विभिन्न सभ्यताहरूले ताराहरूमा आकृति, कथा र परिचित चित्रहरू देख्थे। तीमध्येका आकृतिहरुमा कुकुरहरू पनि थिए। ग्रीक पौराणिक कथाका अनुसार आकाशगङ्गामा दुई कुकुर तारामण्डल छन्-क्यानिस मेजर र क्यानिस माइनर।
अन्य विभिन्न संस्कृतिहरूमा कुकुरलाई संरक्षण, मार्गदर्शन र आत्माको यात्रासँग जोडिएको पाइन्छ। प्राचीन इजिप्टमा कुकुर वा स्यालजस्तो देवताहरूले आत्मालाई परलोकतर्फ मार्गदर्शन गर्ने विश्वास थियो।
विभिन्न वैज्ञानिक अन्वेषणहरुले कुकुरहरू अन्य ग्रहमा हुन सक्ने सम्भावना अत्यन्तै न्यून देखाएका छन्। तर कुकुरजस्ता जीवहरूको सम्भावना भने पूर्ण रूपमा नकार्न भने सकिंदैन । विज्ञानको विकासक्रमले समान समस्याको समाधानमा समान रूपहरू सिर्जना गर्न सक्छ, जसलाई कन्भरजेन्ट रिभोलुसन भनिन्छ। पृथ्वीमै ब्वाँसो, हाइना र केही मार्सुपियल जनावरहरूमा समान संरचना र व्यवहार देखिन्छ। त्यस्तै समान विशेषता भएका कुकुर जस्तै जीव अन्य ग्रहमा हुन सक्ने वैज्ञानिकहरुले दाबी गर्छन्। तर अहिलेसम्मका अन्वेषणबाट त्यो पुष्टि भने हुन सकेको छैन।
वैज्ञानिक कथाहरूमा कुकुरहरू प्रायः अन्तरिक्ष यात्रीहरूको साथीका रूपमा देखिन्छन्। उनीहरूले भावनात्मक सहयोग, सुरक्षा र आत्मीयताको प्रतीकको रूपमा काम गर्छन्। कतिपय कथाहरूमा अन्य ग्रहका सभ्यताहरूमा पनि कुकुरजस्ता साथी प्राणीहरू देखाइन्छ।
