अस्पतालभित्र जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी लगायतका कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको छ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिले बिरामीको गोपनीयता हनन हुनुका साथै स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पर्ने भएकाले यस्तो कार्य नगर्न सबैलाई आग्रह गरेको हो।
पछिल्लो समय केही व्यक्तिहरूले अनुमति बिना अस्पताल परिसरमा प्रवेश गरी बिरामी तथा स्वास्थ्यकर्मीको फोटो(भिडियो खिच्ने, अनावश्यक भिडभाड गर्ने र उपचार प्रक्रियामा अवरोध पुर्याउने गुनासो बढेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यस्ता गतिविधिले बिरामीको गोपनीयता उल्लङ्घन हुने र स्वास्थ्य सेवा प्रवाहमा बाधा पुग्ने भएकाले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा अनुमति बिना भिडियो बनाउने, स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने वा दबाब दिने कार्य प्रचलित कानुन विपरीत हुने स्पष्ट गरिएको छ।
स्वास्थ्य मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्था परिसरभित्र सम्बन्धित निकायको स्वीकृति बिना फोटो-भिडियो नखिच्न र प्रकाशन-प्रसारण नगर्न सबैलाई अनुरोध गरेको छ।
यस्ता कार्य जारी रहेमा कानुनअनुसार कडा कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएको छ।

