त्रिभुवन विश्वविधालयका पदाधिकारीले दिए राजीनामा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहित शीर्ष तीन पदाधिकारीले सामूहिक रूपमा राजीनामा दिएका छन्। रास्वपा नेतृत्वको सरकारले विश्वविद्यालयमा नयाँ व्यवस्थापन र नीतिगत पुनर्संरचना गर्न सहज होस् भन्ने उद्देश्यले उपकुलपति प्रा. डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा. खड्ग केसी र रजिष्टर केदारप्रसाद रिजालले एकसाथ पद त्यागेका हुन्।
उनीहरूको सामूहिक राजीनामा उच्च शिक्षाको क्षेत्रमा देखिएका चुनौती, सुधारको आवश्यकता र आगामी दिनमा सरकारका शिक्षासम्बन्धी प्राथमिकताहरूलाई खुला मार्ग प्रशस्त गर्ने कदमको रूपमा हेरिएको छ। रास्वपाको नेतृत्वमा बनेको सरकारले विश्वविद्यालय प्रशासनलाई प्रभावकारी, पारदर्शी र गतिशील बनाउने प्रतिबद्धता सार्वजनिक गर्दै आएको छ। यही कारण त्रिविका नेतृत्व तहका व्यक्तिहरूले नयाँ टोलीलाई सहज वातावरण प्रदान गरिने बताउँदै पद छाडेका छन्।
उपकुलपति अर्यालले राजीनामा पत्रमा विगत केही वर्षयता विश्वविद्यालयमा देखिएका संरचनागत समस्याहरू समाधान गर्न नेतृत्वको परिवर्तन अपरिहार्य भएको उल्लेख गरेका छन्। शिक्षाध्यक्ष केसीले पनि विश्वविद्यालयमा गुणस्तरीय शिक्षा, अनुसन्धान र व्यवस्थापन सुधारका लागि नयाँ सोच र दृष्टिकोण आवश्यक भएको बताएका छन्। रजिष्टर रिजालले भने विश्वविद्यालय प्रशासनलाई नयाँ ऊर्जासहित अघि बढाउन आफूहरू पछि हट्न तयार भएको बताएका छन्।
