`

९८ प्रतिशतसम्म माइक्रोप्लास्टिक हटाउन सकिने चमात्कारी रुख

Nepal One HD १७ वैशाख २०८३ १८:०१
जीवनशैली/स्वास्थ्य

काठमाडौं। सजिवन (मोरिङ्गा)को रुख पोषण र औषधीय गुणका लागि मात्र होइन। पानी शुद्धीकरणमा पनि अत्यन्त प्रभावकारी देखिएको छ।

ब्राजिल र बेलायतका वैज्ञानिकहरूले गरेको नयाँ अनुसन्धानले मोरिङ्गा बिउको प्रयोगले धाराको पानीमा रहेका माइक्रोप्लास्टिकहरू हटाउन सक्ने प्रमाणित गरेको हो।

अनुसन्धानअनुसार, मोरिङ्गा बिउबाट निकालिएको तत्त्वले पानीमा रहेका सूक्ष्म प्लास्टिक कणहरूलाई आपसमा टाँसिन मद्दत गर्छ, जसले गर्दा ती कणहरू फिल्टर गर्न सजिलो हुन्छ।

विशेषगरी पीभीसीजस्ता हानिकारक माइक्रोप्लास्टिकहरूलाई हटाउन यो विधि ९८ दशमलव ५ प्रतिशतसम्म प्रभावकारी देखिएको छ। यो परिणाम अहिले व्यापक रूपमा प्रयोग हुने एलुमिनियम सल्फेट जत्तिकै प्रभावकारी मानिएको छ। केही अवस्थामा अझ राम्रो नतिजा पनि देखिएको बताइएको छ।

माइक्रोप्लास्टिक अहिले विश्वव्यापी चिन्ताको विषय बनेको छ। यी सूक्ष्म कणहरू समुद्रदेखि हिमालसम्म फैलिएका छन् र खानेकुरा तथा पिउने पानीमा मिसिएका छन्। यस्ता कण मस्तिष्क, प्रजनन प्रणाली र मुटु सम्बन्धी प्रणालीसम्म पुगेको पाइएको छ।

जनावरमा गरिएको अध्ययनले हार्मोन असन्तुलन र प्रजनन समस्यासँग यसको सम्बन्ध देखाएको भए पनि मानव स्वास्थ्यमा यसको असरबारे अझै अध्ययन जारी छ।

मोरिङ्गा बिउको अर्को महत्वपूर्ण पक्ष यसको प्राकृतिक र दिगोपन हो। यो नवीकरणीय स्रोत हो. सजिलै जैविक रूपमा नष्ट हुन्छ र यसको प्रयोगले विषाक्त फोहोर कम उत्पादन गर्छ। यसले परम्परागत रसायनहरूको तुलनामा वातावरणमैत्री विकल्प प्रस्तुत गर्ने वैज्ञानिकहरूको भनाइ छ।

तर यस प्रविधिका केही सीमितता पनि छन्। एउटा मोरिङ्गा बिउले करिब १० लिटर पानी मात्र शुद्ध गर्न सक्ने भएकाले ठूलो स्तरका पानी प्रशोधन केन्द्रहरूमा यसको प्रयोग चुनौतीपूर्ण हुन सक्छ। साथै धेरै बिउ प्रयोग गर्दा पानीमा जैविक अवशेष बढ्न सक्ने जोखिम रहने भएकाले थप प्रशोधन प्रक्रिया आवश्यक पर्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *