रितेश देशमुखको ‘राजा शिवाजी’ नेपालमा पनि प्रदर्शनमा
एजेन्सी। बलिउड अभिनेता रितेश देशमुखको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फिल्म ‘राजा शिवाजी’ शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आएको छ।
फिल्म नेपालका लागि आधिकारिक वितरक नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले उच्च शोसहित प्रदर्शन सुरु भएको जानकारी दिएका छन्।
साहस, नेतृत्व र स्वराजका प्रतीक छत्रपति शिवाजी महाराजको जीवन र दर्शनमा आधारित यस फिल्मले मराठा साम्राज्यका संस्थापक शिवाजी महाराजको ऐतिहासिक यात्रालाई प्रस्तुत गरेको छ।
फिल्ममा रितेश देशमुख स्वयंले निर्देशन तथा मुख्य भूमिकामा अभिनय गरेका छन्। साथै जेनेलिया देशमुख, सञ्जय दत्त, विद्या बालन, अभिषेक बच्चन र महेश मांजरेकरलगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मको विशेष आकर्षणका रूपमा रितेशका कान्छा छोरा राहिल देशमुखले छत्रपति शिवाजी महाराजको बाल्यकालको भूमिका निर्वाह गर्दै अभिनयमा डेब्यु गरेका छन्।
जियो स्टुडियोज, ज्योति देशपाण्डे र जेनेलिया डिसुजाको निर्माण रहेको यो फिल्म करिब १०० करोड भारतीय रुपैयाँभन्दा बढी बजेटमा निर्माण गरिएको बताइएको छ।
रितेशको अघिल्लो मराठी फिल्म ‘वेड’ सफल भएपछि ‘राजा शिवाजी’ प्रति दर्शकको अपेक्षा उच्च रहेको छ।
