परालको आगो फिल्मले लगायो बक्स अफिसमा आगो
काठमाडौं। निर्माता सुशील पोखरेलद्वारा निर्मित नेपाली फिल्म ‘परालको आगो’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। आठ वर्षपछि फिल्म क्षेत्रमा पुनः प्रवेश गरेका पोखरेलका लागि यो परियोजना सफल र सन्तोषजनक बनेको छ।
निर्माता पोखरेलका अनुसार हालसम्मको घरेलु बक्स अफिस कलेक्सन, प्रायोजन, डिजिटल अधिकार तथा विदेश प्रदर्शन अधिकार बिक्रीबाट फिल्मको लगानी सुरक्षित भइसकेको छ। उनले भने, ‘अब म नाफाको यात्रामा प्रवेश गरेको छु।’ साथै, फिल्मको बलियो कथावस्तुका कारण यसको यात्रा अझै लामो रहने विश्वास पनि उनले व्यक्त गरेका छन्।
पोखरेलले आठ वर्षपछि फिल्म क्षेत्रमा फर्किँदा नेपाली चलचित्र उद्योगमा धेरै परिवर्तन भएको अनुभव रहेको उल्लेख गरेका छन्। ‘यो अवधिमा धेरै कुरा सिक्ने अवसर पाएँ, अझ परिपक्व हुँदै गएको छु,’ उनले भने। फिल्मको सफलतामा कलाकार तथा प्राविधिक टोलीको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले सबैप्रति आभार व्यक्त गरेका छन्।
निर्माता पोखरेलले आफ्नो निर्माण कम्पनीमार्फत अब प्रत्येक वर्ष नियमित रूपमा दुईवटा फिल्म निर्माण गर्ने योजना समेत सार्वजनिक गरेका छन्। उनले सम्पूर्ण कलाकार, प्राविधिक, सहयोगी, मिडियाकर्मी तथा दर्शकप्रति धन्यवाद व्यक्त गर्दै भने, ‘जय नेपाली सिनेमा, जय दर्शक!’
