एकैठाउँमा एकैसाथ ८६ वटा बम फेला
सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ भवन निर्माणका लागि जग खन्दा ठूलो मात्रामा विस्फोटक सामग्री फेला परेको छ। शारदा नगरपालिका-३ स्थित प्रहरी कार्यालय परिसरभित्र बुधबार देखिएको शंकास्पद वस्तु उत्खनन गर्न सुरु गरिएको थियो। उत्खननको क्रममा शनिबार बिहान ११:२० बजेसम्म ८६ वटा बम भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार फेला परेका बममध्ये ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम छन्। यस्तै, रेडियो वेभ उपकरण ७ थान, करिब ५०० ग्राम विस्फोटक पदार्थ, झण्डै २ किलो बम बनाउन प्रयोग हुने सामग्री तथा १० मिटर फायरिङ केबल पनि भेटिएको छ।
प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार घटनास्थल वरपर सुरक्षा सतर्कता कडा पारिएको छ। प्रारम्भिक रूपमा प्रहरी टोली खटिएपछि नेपाली सेनासँग समन्वय गरी थप जनशक्ति परिचालन गरिएको हो। उपसेनानी कृष्ण क्षेत्रीको नेतृत्वमा सेना टोली घटनास्थलमा पुगेको थियो।
उत्खनन जारी रहँदा थप १० वटा सकेट बम भेटिएपछि बम निष्क्रिय पार्न विशेष टोली बोलाइएको छ। दाङस्थित नं. १९ बाहिनीबाट डिस्पोजल टोली सहित विभिन्न गणका इन्जिनियर टोली शनिबार बिहानदेखि घटनास्थलमा खटिएका छन्।
हाल फेला परेका सबै विस्फोटक सामग्रीलाई सुरक्षित रूपमा निष्क्रिय पार्ने प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
