`

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र गरियो,कहाँ कति पुल निर्माण भए ?

Nepal One HD १९ वैशाख २०८३ २०:०६
प्रमुख खबर

सुर्खेत। कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर सडक कालोपत्र तथा पक्की गरेको छ ।प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म ३०२ दशमलव ८४ किमी सडक कालोपत्र गरिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा २४९ दशमलव ५८ प्रतिशत सडक कालोपत्र तथा पक्की गरिएको थियो । चालु आवको चैत मसान्तभित्र ५३ दशमलव २६ किमी सडक थप निर्माण भएको हो । चालु आवमा १६१ किमी कालोपत्र, पक्की, पेभमेन्ट गर्ने लक्ष्य राखिएकामा चैत मसान्तसम्म ५३ दशमलव २६ किमीमा काम सम्पन्न भएको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका वरिष्ठ सिनियर डिभिजनल इञ्जिनियर रमेश सुवेदीले जानकारी दिनुभयो ।

हुम्लामा कुनै पनि सडक कालोपत्र नभएको उहाँले बताउनुभयो । “कर्णालीका १० जिल्लामा ७७४ दशमलव ७१ किमी सडक ग्राभेल भएको छ । आव २०८१/८२ सम्म ७१३ दशमलव ६५ किमी ग्राभेल गरिएकामा चालु आवको चैत मसान्तसम्म ६१ दशमलव शून्य छ किमीमा ग्राभेल भएको छ । चालु आवमा १३९ दशमलव ७० किमी सडक ग्राभेल गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो ।

आव २०८१/८२ सम्म माटे कच्ची तीन हजार २७६ दशमलव ४४ किमी सडक निर्माण भएकामा चालु आवको नौ महिनामा ११३ दशमलव ९८ किमी थप भएको वरिष्ठ सिनियर डिभिजनल इञ्जिनियर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म तीन हजार २७६ दशमलव ४४ किमीमा ट्याक खेखिएको, अन्य सडक स्तरोन्नति, नाला निर्माण, ग्याविन, टेवा पर्खाल गरेर ७५४ दशमलव ५९ किमी सडकमा काम भएको छ ।

कहाँ कति पुल निर्माण भए ?

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले हालसम्म १५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको जनाएको छ । आव २०८१/८२ मा १२५ झोलुङ्गे पुल निर्माण भएकामा चालु आवको नौ महिनामा २६ वटा निर्माण भएका छन् । सुर्खेतमा चार, दैलेखमा सात, रुकुम पश्चिममा एक, जाजरकोटमा एक, डोल्पामा चार, जुम्लामा चार, मुगुमा दुई र कालिकोटमा तीन वटा झोलुङ्गे पुल निर्माण भएका इञ्जिनियर सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आवको हालसम्म नौ वटा सडक पुल, सात वटा सार्वजनिक भवन, जनता आवास (सङ्घ) तर्फ ३८ वटा घर निर्माण भएका प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।

“जनता आवास प्रदेशतर्फ हालसम्म ७३६ वटा आवास निर्माण भएका छन् । चालु आवको नौ महिनामा ३० वटा निर्माण भएका छन् । विपन्नको घर कार्यक्रमअन्तर्गत हालसम्म चालु आवको हालसम्म ३२ वटा निर्माण भएका छन्”, इञ्जिनियर सुवेदीले भन्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *