‘धुरन्धर २’ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड
काठमाडौं । बलिउड फिल्म धुरन्धर २ ले बक्स अफिसमा सनसनीपूर्ण सफलता हासिल गर्दै ऐतिहासिक उपलब्धि जोडेको छ। यसले लामो समयदेखि कायम रहेको बाहुबली २ को विश्वव्यापी कमाइ रेकर्ड तोडेर नयाँ कीर्तिमान बनाएको भारतीय सञ्चारमाध्यम दैनिक भास्कर ले उल्लेख गरेको छ।
रणवीर सिंह मुख्य भूमिकामा रहेको यो फिल्मले रिलिजदेखि नै लगातार उत्कृष्ट व्यापार गरेको छ। विभिन्न ट्रेड रिपोर्टअनुसार, धुरन्धर २ ले विश्वभर १७८८.३२ करोड भारतीय रूपैयाँ कमाएर सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय फिल्मको सूचीमा आफूलाई स्थापित गरेको छ।
यसअघि बाहुबली २ को कमाइ १७८८.०६ करोड थियो। विश्वभर सबैभन्दा धेरै कमाउने पहिलो भारतीय फिल्म भने दंगल हो, जसको कुल कमाइ २०७० करोड रुपैयाँ छ।
फिल्म विश्लेषकहरूका अनुसार दर्शकको सकारात्मक प्रतिक्रिया, विशाल स्केल, उत्कृष्ट भिजुअल र निरन्तर मजबुत व्यापारका कारण धुरन्धर २ ले यो सफलता प्राप्त गरेको हो। अहिले पनि फिल्म बक्स अफिसमा सशक्त रूपमा चलिरहेको छ।
ट्रेड साइट सैकनिल्कका अनुसार, रिलिजको ४५औँ दिनमा फिल्मले भारतमै २.७७ करोड रुपैयाँ कमाएको छ। भारतभित्र मात्रै यसको कुल कमाइ १३६२.५७ करोड पुगेको छ।
आदित्य धर निर्देशित धुरन्धर २ नेपालका मल्टिप्लेक्स र हलहरूमा पनि निरन्तर प्रदर्शन भइरहेकाले यसको कमाइ अझै बढ्ने अपेक्षा गरिएको छ।
