`

एमाले अध्यक्ष ओलीलाई सन्चै छ ?

Nepal One HD २० वैशाख २०८३ १६:५०
जीवनशैली/स्वास्थ्य

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख र सामान्य रहेको भए पनि, चिकित्सकको कडा सल्लाह अनुसार उनी पूर्ण आराममै बसेका छन्।

केही दिनअघि शरीरमा देखिएको ‘इन्फेक्सन’ बढेपछि परिवार-परिजनबाहेक अन्य सबैसँगको भेटघाट रोकिएको थियो। पार्टी नेतृत्वदेखि कार्यकर्तासम्म ओलीको स्वास्थ्यबारे चासो बढिरहेको छ।

पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालका अनुसार आफूले पनि धेरै दिनदेखि अध्यक्ष ओलीलाई भेट्न सकेका छैनन्। ‘अध्यक्षज्यूलाई केही समयअघि अलि गाह्रो भएको थियो। अहिले अवस्था सामान्य हुँदैछ, सुधार देखिइरहेको छ।’ दाहालले बताए।

चैत १४ गते प्रहरीले उनलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराएको थियो। परीक्षणपछि उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भए। पित्तथैलीको पत्थरी शल्यक्रिया गरिएको थियो।
वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भए पनि ‘इन्फेक्सन’ नघटेसम्म पूर्ण विश्राममै बस्न चिकित्सकले निर्देशन दिएका छन्।

निकट स्रोतका अनुसार अस्पतालबाट घर फर्किएपछि ओलीले कुनै पनि राजनीतिक गतिविधि, भेटघाट, छलफल वा पार्टीभित्रको नियमित कार्यसमेत न्यून मात्र गरेका छन्। उनी अधिकांश समय आफ्नो कोठामै आराम गर्दै उपचारमा केन्द्रित छन्।

ओलीको स्वास्थ्य अवस्थाका कारण एमालेभित्र पछिल्ला केही हप्ता पार्टीगत गतिविधि प्रायः निष्क्रियजस्तै बनेका छन्।
पदाधिकारी तहबाटै पार्टी पुनर्गठन, संगठन विस्तार र विभिन्न संरचनामा नयाँ नेतृत्व छनोट गर्ने विषय उठिरहे पनि, निर्णायक नेतृत्वको रूपमा रहेका ओली निष्क्रिय भएपछि ती बहसहरू ठूला राजनीतिक निर्णयमा परिणत हुन सकेका छैनन्।

उता, पार्टीभित्र अध्यक्षको भौतिक अनुपस्थितिमा आन्तरिक समन्वय कमजोर भएको र निर्णय प्रक्रियामा ढिलाइ भएको नेताहरूको गुनासो पनि बढिरहेको छ।

अन्तिम पटक उनी मे १ अर्थात् श्रमिक दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिँदै सार्वजनिक रूपमा देखिएका थिए।

पार्टीका शीर्ष नेताहरूले अध्यक्षको स्वास्थ्य अवस्थाबारे नियमित अपडेट लिन परिवारका सदस्यसँग सम्पर्क गरिरहेका छन्। उनी निकट स्रोतका अनुसार, चिकित्सकको अनुमति र स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र ओली पार्टी गतिविधिमा फर्कने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *