‘आबाट आमा–२’ को शुभमुहूर्त : पल शाहसहित पुरानै टोली दोहोरिँदै
काठमाडौं। अभिनेता पल शाहको मुख्य भूमिका रहने नयाँ फिल्म ‘आबाट आमा–२’ को सोमवार बिहान बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ।
फिल्मको स्क्रिप्ट पूजा गर्दै निर्माण कार्य औपचारिक रूपमा अघि बढाइएको निर्माण पक्षले जनाएको छ। अघिल्लो वर्षको सुपरहिट ‘आ बाट आमा’ को सिक्वेलका रूपमा निर्माण हुने यस फिल्ममा केही पुराना कलाकार पुनः दोहोरिनेछन्।
फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत र गजित विष्टलगायत कलाकार पुनः देखिनेछन् भने आकाश श्रेष्ठ र नरेन खड्का यसपटक नयाँ रूपमा जोडिएका छन्। अभिनेत्रीहरू भने अझै छनोट हुन बाँकी रहेको निर्देशक चन्द्र पन्तले जानकारी दिएका छन्।
निर्देशक पन्तका अनुसार छायांकन तालिका केही दिनमै तय गरिनेछ भने हाल कलाकार तथा प्राविधिक टोलीको छनोट कार्य जारी छ। निर्माण टिमले फिल्मलाई आगामी बडादशैँमा प्रदर्शन गर्ने लक्ष्य दोहोर्याएको छ।
फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहनेछ। आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यस फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। प्रोडक्सन म्यानेजरका रूपमा करणसिंह रसाली रहेका छन्।
