अभिनेत्री स्वस्तिमा भन्छिन्: ‘चलचित्रको बिजनेस ‘ट्रिकी’ हुन्छ’
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का ले चलचित्रको व्यवसायिक पक्ष सधैँ अनिश्चित र जटिल हुने बताएकी छिन्। उनका अनुसार कुनै पनि चलचित्रले कति कमाइ गर्छ भन्ने कुरा निर्माण पक्षले पहिले नै अनुमान गर्न नसक्ने विषय हो।
स्वस्तिमाले चलचित्रको व्यापारलाई ‘कन्फ्युजिङ’ (अस्पष्ट) विषयसँग तुलना गर्दै दर्शकको रुचि अनुमान गर्न नसकिने बताइन्। ‘कमर्सको हिसाबले सिनेमा आफैँमा कन्फ्युजिङ विषय हो। अडियन्सलाई के मन पर्छ भन्ने हामीलाई थाहै हुँदैन,’ उनले भनिन्।
उनका अनुसार यदि दर्शकको रुचि स्पष्ट रूपमा अनुमान गर्न सकिने भए सबै चलचित्र एउटै ढाँचामा बन्ने थिए र सबै सफल हुने सम्भावना हुन्थ्यो। तर वास्तविकता त्यस्तो नभएको उनको भनाइ छ।
स्वस्तिमाले चलचित्रको सफलता वा असफलता सुनिश्चित नहुने भए पनि निर्माणमा इमानदारी आवश्यक रहेको बताइन्। ‘निर्माताले इमानदार भएर चलचित्र बनाएको छ भने त्यो चलचित्रले आफ्नो भागको माया पाउँछ,’ उनले भनिन्।
उनले चलचित्र निर्माणको मुख्य उद्देश्य पैसा भन्दा पनि कथा भन्ने हुनुपर्नेमा जोड दिइन्। निर्देशकले आफूले भन्न खोजेको कथा प्रस्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनको धारणा छ। ‘दर्शकलाई के मन पर्छ भनेर मात्र सोचेर चलचित्र बनाउने हो भने त्यो निर्देशकको आफ्नै सिर्जना हुँदैन,’ उनले भनिन्।
उनका अनुसार चलचित्र बनाइसकेपछि मात्र त्यसलाई दर्शकमाझ कसरी पुर्याउने र बढीभन्दा बढी दर्शकसम्म कसरी पहुँच बनाउने भन्ने रणनीति तय गरिन्छ।
