महाराजधिराजमा ८० भन्दा बढी कलाकारले अभिनय गर्दै
काठमाडौं । फिल्म ‘महाराजधिराज’ को मंगलबार बिहान बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ। शंखध्वनि र पञ्चेबाजासहित सम्पन्न मुहूर्त कार्यक्रममा फिल्मका निर्देशक, मुख्य कलाकार तथा निर्माण टिम उपस्थित रहे। पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देललगायत कलाकारहरूको विशेष सहभागिता थियो।
परिच्छेद सेनको निर्देशनमा बन्ने यो फिल्मको छायांकन यही शुक्रबारदेखि सुनसरीको श्रीलंका टापुबाट सुरू हुने बताइएको छ। टापुमा करिब एक हप्ता छायांकन चलेपछि फिल्म युनिट काठमाडौं, भक्तपुर र कीर्तिपुरका ऐतिहासिक तथा आकर्षक स्थानतर्फ सर्नेछ। कुल ७० दिन छायांकन योजना रहेको फिल्मका छायांकार नवराज थापा हुन्।
लामो समयदेखि तयारी गरिएको ‘महाराजधिराज’ सामाजिक परिवेशमा आधारित पिरियड ड्रामा भएको निर्देशक सेनले बताएका छन्। फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डी.सी. र सुशील सिटौलालगायत कलाकार अभिनय गर्नेछन्।
यसबाहेक हिउँवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटा लगायतका कलाकारहरू पनि फिल्ममा देखिनेछन्। करिब ८० कलाकार समेटिएको यो परियोजनामा कमल गाउँले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ र पूजा बुढालगायत कलाकारहरूको समेत अभिनय रहनेछ।
प्रस्तुतकर्ता विराज विष्टले बलियो कलाकार टोलीअनुसार नै उत्कृष्ट फिल्म निर्माण गर्ने विश्वास व्यक्त गरेका छन्। छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’मा निर्देशक सेनकै लेखन समावेश छ।
निर्माण टोलीमा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्।
