`

‘मन्डेला इफेक्ट’ : सत्य,भ्रम या प्याररल वर्ल्ड ?

समीन बरुवाल २२ वैशाख २०८३ २१:४३
अन्तर्वार्ता/बिचार

मानव जीवन अनुभव, स्मृति र चेतनाको आधारमा अघि बढ्छ। हामीले देख्ने, सुन्ने र भोग्ने घटनाहरू हाम्रो स्मृतिमा संग्रहित हुन्छन्, र त्यही स्मृतिले हाम्रो बुझाइ, निर्णय र विश्वास निर्माण गर्छ। तर स्मृति सधैं पूर्ण रूपमा सही, स्थिर र अपरिवर्तनीय हुँदैन। कहिलेकाहीँ मानिसहरूले एउटै घटनालाई फरक-फरक तरिकाले सम्झन्छन्, वा कहिल्यै नभएको कुरा पनि ‘सत्य’ जस्तै विश्वास गर्न थाल्छन्। यसले मानव चेतनाको सीमितता र स्मृतिको जटिल प्रकृतिलाई स्पष्ट रूपमा झल्काउँछ।

समाजमा सूचना, अनुभव र साझा कथनहरू निरन्तर आदान-प्रदान भइरहँदा मानिसहरूको व्यक्तिगत स्मृति पनि त्यसबाट प्रभावित हुन्छ। कुनै घटना बारम्बार सुन्दा वा पढ्दा, त्यो स्मृति अझ मजबुत हुँदै जान्छ। चाहे त्यो वास्तविकतासँग पूर्ण रूपमा मेल नखाओस्। यसरी सामूहिक स्मृतिको निर्माण हुन्छ। जसले कहिलेकाहीँ सत्य र भ्रमबीचको सीमालाई नामेट गरिदिन्छ।

यही पृष्ठभूमिबाट माथि आएपछि मानव स्मृति र सामूहिक विश्वासबीच देखिने यस्ता अनौठा र रहस्यमय अनुभवहरु पर्दा अघि आउँछ।  चाहे त्यसलाई देजाबू को दिऊ। चाहे त्यस्लाई ‘मन्डेला इफेक्ट’ भनौं। हाम्रा स्मृति,अनुभव र चेतना सँग जोडिएर कहिलेकाहीँ यस्ता घटना घट्छन जसले हाम्रो बुझाइमाथि नै प्रश्न उठाउँछन्। जसलाई बुझ्ने प्रयास विभिन्न दृष्टिकोणबाट आज पनि जारी छ। 

यस्तै भ्रम र सत्यको मनोवैज्ञानिक,दार्शनिक र वैज्ञानिक पृष्ठभूमिबाट ‘मन्डेला इफेक्ट’ भन्ने अवधारणाको चर्चा सुरु हुन्छ। मन्डेला इफेक्ट त्यस्तो अवस्था हो। जहाँ ठूलो संख्यामा मानिसहरूले कुनै व्यक्ति,घटना,नाम,शब्द वा दृश्यबारे एउटै गलत सम्झना,धारणा र अनुभव साझा गर्छन्। जसले सत्य र भ्रमबीचभिन्नता छुट्याउन अफ्टेरो बनाउँछ।  

पृष्ठभूमी

नेल्सन मन्डेला दक्षिण अफ्रिकाका एक प्रमुख आन्दोलनकारी एक्टिभिस्ट र राजनीतिज्ञ थिए। जसले अफ्रिकन नेशनल कांग्रेसमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनी दक्षिण अफ्रिकामा लामो समयसम्म लागू रहेको जातीय विभेदको नीति अपार्थाइड अपार्थाइड का कडा विरोधी थिए। जहाँ बहुसंख्यक कालो जनसंख्या अल्पसंख्यक गोरा शासकद्वारा शासित थियो। 

सन् १९५० र १९६० को दशकमा उनका राजनीतिक गतिविधिका कारण उनी बारम्बार कानुनी समस्यामा परे।र १९६३ मा उनलाई तोडफोड स्याबोटाज सम्बन्धी आरोपमा मुद्दा चलाइयो। उनी दोषी ठहर भए। तर मृत्युदण्डबाट बच्दै आजीवन कारावासको सजाय सुनाइयो।

१९८० को दशकमा दक्षिण अफ्रिका अपार्थाइड अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायको कडा दबाबमा आयो। १९९० मा राष्ट्रपति एफ. डब्ल्यु. डी क्लार्कको नेतृत्वमा राजनीतिक सुधारहरू सुरु गरिए। जसले अन्त्यतर्फ शान्तिपूर्ण संक्रमणको बाटो खोल्यो। डी क्लार्कले मन्डेलाको रिहाइको घोषणा गरे। अफ्रिकन नेशनल कांग्रेसको कानुनी मान्यता पुनःस्थापित गरे।

मन्डेला र डी क्लार्कले आफ्नो प्रयासका लागि १९९३ मा नोबेल शान्ति पुरस्कार नोबेल पिस प्राइज पाए। र मन्डेला १९९४ मा दक्षिण अफ्रिकाका राष्ट्रपति निर्वाचित भए। उनले १९९९ सम्म पद सम्हाले र २०१३ मा निधन नहुन्जेल शान्ति र जातीय समानताका प्रिय प्रतीकका रूपमा रहिरहे।

तर २००० को दशकमा इन्टरनेट प्रयोगकर्ताहरूको ठूलो समूहले अनलाइन आफ्ना अनुभवहरू साझा गर्न थाले।  जसमा उनीहरूले मन्डेला १९८० को दशकमै जेलमा मृत्यु भएको स्पष्ट रूपमा सम्झेको बताएका थिए। ती विवरणहरू अनुसार, उनको मृत्यु अन्तर्राष्ट्रिय टेलिभिजन समाचारमा प्रसारण गरिएको थियो। र उनको भव्य अन्त्येष्टि गरिएको थियो। जहाँ उनकी श्रीमतीले भावनात्मक श्रद्धाञ्जली दिएकी थिइन्। एक परामनोवैज्ञानिक प्यारानर्मल रिसर्चर र ब्लगर, जसले पहिलोपटक यस्तो गलत सम्झनाबारे लेखेकी थिइन्। उनले सन् २०१० मा यस अनौठो घटनालाई वर्णन गर्न ‘मन्डेला इफेक्ट’ भन्ने शब्द प्रयोग गरिन्। त्यसपछि विभिन्न वेबसाइट र अनलाइन समुदायहरूमा यस्ता धेरै उदाहरणहरू साझा हुन थाले। जसले लाखौँ दर्शकको ध्यान ताने। र हजारौँ मानिसलाई आफ्ना अनुभवहरू बाँड्न प्रेरित गर्‍यो। 

समयसँगै यस्ता धेरै उदाहरणहरू देखिन थाले। जसमा चलचित्रका संवाद, ब्रान्डका लोगो, ऐतिहासिक घटनाहरू वा सामान्य तथ्यहरूलाई मानिसहरूले गलत तरिकाले सम्झिरहेका थिए। यसले ‘मन्डेला इफेक्ट’ भन्ने शब्दलाई लोकप्रिय बनायो। र मन्डेला इफेक्ट साझा अनुभव मात्र नभएर अध्ययनको विषय नै बन्यो।

जस्तै,अमिताभ बच्चनको सुपरहिट फिल्म ‘शहंशाह’ को ‘रिश्ते में तो हम तुम्हारे बाप लगते हैं, नाम है शहंशाह…’ यो संवाद सुन्नुभएको होला। तर प्रायः कुराकानीमा हामी यसलाई प्रयोग पनि गर्छौँ, तर फिल्ममा यस्तो कुनै संवाद नै छैन। वास्तवमा फिल्मको सही संवाद यस्तो छ ‘रिश्ते में तो हम तुम्हारे बाप होते हैं…’ यस्तो छ।  यस प्रकारको घटना ‘मन्डेला इफेक्ट’ को एक उदाहरण हो। 

यस्ता कैयन उदाहरणहरु छन्। जस्तै पिकाचूको पुच्छर…धेरैजसो मानिसहरूको सम्झनामा पिकाचूको पुच्छर पहेंलो र कालो रंगको हुन्छ, तर यो पनि एक भ्रम मात्र हो। वास्तवमा पिकाचूको पुच्छर पूर्ण रूपमा पहेंलो मात्र हुन्छ। यदि तपाईंले गुगलमा खोज्नुभयो भने तपाईंलाई पिकाचूको पुच्छर केवल पहेंलो नै देखिन्छ। 

यसै प्रकार भारतमा धेरैजसो मानिसहरूले केरलाको अंग्रेजी हिज्जे Ker(e)la लेख्ने गर्छन्।जबकि सही हिज्जे Ker(a)la हो।

जस्तै, KitKat मा कुनै हाइफन हुँदैन। यो KitKat हुन्छ, Kit-Kat होइन। त्यस्तै ९० को दशकको प्रसिद्ध कार्टुन Looney Tunes हो, Looney Toons होइन। 

अर्को अत्यन्त लोकप्रिय उदाहरण बालबालिकाको किताब बेरेन्स्टेन बियर हो। ठूलो संख्यामा मानिसहरूले यसलाई Berenstein Bears (ईन उच्चारणसहित) भनेर सम्झन्छन्, तर वास्तविक नाम Berenstain Bears हो।

डिज्नीको चलचित्र स्नो ह्वाइट मा पनि यो इफेक्ट देखिन्छ। धेरैले सम्झन्छन् कि जादू गर्ने ऐनाले ‘Mirror, Mirror on the wall, who’s the fairest of them all?’ भनेको थियो, तर वास्तविक संवाद ‘Magic Mirror on the wall…’ हो।

स्टार वार्स फिल्ममा पनि फरक सम्झना छ। धेरैलाई लाग्छ डार्थ भेडरले ‘Luke, I am your father’ भनेका थिए, तर वास्तविक डाइलग ‘No, I am your father’ हो।

अन्य उल्लेखनीय उदाहरणहरूमा फ्रुट अफ द लुम लोगोमा कहिल्यै cornucopia (फलको भाँडो) नभएको, मोनोपोली खेलको म्यानले कहिल्यै एक आँखाको चश्मा नलगाएको, क्युरीयस जर्ज बाँदरको पुच्छर नभएको जस्ता कुराहरू छन्।

त्यस्तै,धेरै मानिसहरूले ९० को दशकमा Shazaam नामको सिन्बाद अभिनीत जादूगरको चलचित्र आएको सम्झन्छन्, तर यस्तो कुनै फिल्म बनेकै छैन। यसबाहेक किटक्याट (KitKat बिना हाइफन), जिफ पीनट बटर र हन्ना बार्बेरा जस्ता ब्रान्ड नामहरूमा पनि धेरै मानिसहरूको सम्झना वास्तविकतासँग मेल खाँदैन। तर यी सबै उदाहरणहरूले मन्डेला इफेक्टलाई अझ रोचक र रहस्यमय बनाएका छन्।   

मन्डेला इफेक्ट र समानान्तर ब्रम्हाण्ड 

वैज्ञानिक र मनोवैज्ञानिक दृष्टिले हेर्दा मन्डेला इफेक्टलाई समानान्तर ब्रह्माण्डसँग जोड्ने प्रयास पनि गरिएको छ। केही सिद्धान्तहरूले यो विचार अघि सारेका छन्। कि सम्भवतः विभिन्न ब्रह्माण्डबीचको सूक्ष्म ‘ग्लिच’ वा अन्तरक्रियाका कारण स्मृतिहरू आपसमा मिसिएका हुन सक्छन्।  

क्वान्टम भौतिकशास्त्रको मेनी-वर्ल्ड्स इन्टरप्रिटेसनले भन्छ। हरेक सम्भावित घटनाले नयाँ ब्रह्माण्ड सिर्जना गर्छ। हामीले जुन निर्णय वा अवलोकन गर्छौं। त्यसले एउटा रेखालाई छान्छ। तर अन्य सम्भावनाहरू अरू समानान्तर संसारमा जारी रहन्छन्। मन्डेला इफेक्टमा यी संसारहरू बीचको ‘स्लिप’ वा ‘मर्ज’ भएको हुन सक्ने धेरै धारणाहरु बाहिर आएका छन् ।

सर्नको लार्ज हेड्रोन कोलाइडर जस्ता उच्च ऊर्जा प्रयोगहरूले स्पेस-टाइममा साना-साना छिद्र निम्त्याएको र नजिकका समानान्तर ब्रह्माण्डसँग जोडेको हुन सक्ने अवधारणा पेश गर्छ ।

लेफ्ट-ब्रेनको सोचले मानिसलाई सिमिततामा सीमित गर्छ। तर हुन सक्ने सत्यमा अनन्त सम्भावनाहरू छन्।  

तर यी सबै विचारहरु वैज्ञानिक रूपमा प्रमाणित छैनन् । अधिकतम रूपमा परिकल्पनाको स्तरमै सीमित छ। 

अर्कोतर्फ,मनोविज्ञानले यसलाई स्मृति निर्माणको त्रुटि,सामाजिक प्रभाव, सूचना दोहोरिने प्रक्रिया र सामूहिक विश्वासको परिणामका रूपमा व्याख्या गर्छ। जब धेरै मानिसहरूले एउटै गलत जानकारी बारम्बार सुन्छन् वा पढ्छन्, त्यो जानकारी उनीहरूको स्मृतिमा ‘सत्य’ जस्तै स्थापित हुन सक्छ।  

जब हाम्रो सामूहिक चेतना एउटै विश्वासमा केन्द्रित हुन्छ। वास्तविकता त्यसैअनुसार बन्न बाध्य हुन्छ। मानिसले जे सोच्छ त्यहि आविष्कार गर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *