कार्ल मार्क्स र कम्युनिज्म
विश्वको प्रसिद्ध सञ्चार संस्था बीबीसीले इन्टरनेटमार्फत गरेको एक सर्वेक्षणले कार्ल मार्क्सलाई ‘पछिल्लो एक हजार वर्षको सर्वश्रेष्ठ विचारक’ को रूपमा चयन गरेको थियो। उक्त सर्वेक्षणले मार्क्सको विचारको प्रभाव अझै आगामी हजार वर्षसम्म कायम रहने निष्कर्ष निकालेको थियो।
मार्क्सको जन्म भएको २०८ वर्ष र निधन भएको १४३ वर्ष पूरा भइसकेको छ। समयको यो लामो यात्रापछि पनि उनका विचारहरू जीवन्त,सान्दर्भिक र शक्तिशाली छन्।
विश्वभरि अझैपनि वर्गीय शोषण,सामाजिक न्यायको अभाव र असमानता विद्यमान छ। त्यसको समाधान खोज्ने हो भने मार्क्सको दर्शन अहिले पनि उत्तिकै मार्गदर्शक छ। उनी अझै दबिएका र उत्पीडित वर्गका लागि एउटा जीवित आशा र वैचारिक हतियार बनेका छन्।
कार्ल मार्क्स को थिए?
मार्क्स जर्मन अर्थशास्त्री, समाजशास्त्री र दार्शनिक थिए। उनको जन्म सन् १८१८ मे ५ मा ट्रियरमा भएको थियो। जुन त्यतिबेला प्रशियाको राइनल्यान्ड क्षेत्र अन्तर्गत पर्थ्यो। र सन् १८८३ मार्च १४ मा लन्डनमा उनको निधन भयो।
मार्क्सले १८४० को दशकको सुरुतिर कट्टरपन्थी पत्रकारको रूपमा आफ्नो करियर सुरु गरेपछि कम्युनिज्मप्रति आकर्षित भए। कम्युनिज्म भनेको उत्पादनका साधनहरू साझा स्वामित्वमा राखेर सार्वजनिक हितका लागि व्यवस्थापन गर्नुपर्छ भन्ने सिद्धान्त हो । उनले १९औं शताब्दीको युरोपमा यस विचारधाराका प्रमुख समर्थकको रूपमा आफूलाई स्थापित गरे। विशेष गरी सन् १८७१ को पेरिस कम्युनसँगको सम्बन्धका कारण उनी प्रसिद्ध बने। पेरिस कम्युन फ्रान्सेली सरकारविरुद्ध दुई महिनासम्म चलेको समाजवादी मजदुर वर्गको विद्रोह थियो।
सन् १८४८ का युरोपेली क्रान्तिहरू सिसिली, फ्रान्स, जर्मनी, इटाली र अस्ट्रियन साम्राज्यमा राजतन्त्रविरुद्ध भएका गणतान्त्रिक विद्रोहहरूपछि मार्क्स आफ्ना राजनीतिक विचारका कारण निर्वासनमा जान बाध्य भए। त्यसपछि उनी लन्डन गए, जहाँ उनले आफ्नो बाँकी जीवन बिताए। त्यहाँ उनले ब्रिटिश म्युजियमको रिडिङ रुममा अध्ययनमा धेरै समय बिताए।
उनी आर्थिक रूपमा कमजोर अवस्थामा थिए। र लामो समयसम्म गरिबीमा बाँच्नुपर्यो। उनका बौद्धिक सहकर्मी फ्रेडरिक एंगेल्सले म्यानचेस्टरस्थित आफ्नो बुबाको कपास मिलबाट प्राप्त आम्दानी प्रयोग गरी उनलाई नियमित आर्थिक सहयोग गरे।
मार्क्सको सबैभन्दा प्रसिद्ध कृति कम्युनिस्ट घोषणापत्र (१८४८) हो। जुन उनले एंगेल्ससँग मिलेर लेखेका थिए।
कार्ल मार्क्सले के विश्वास गर्थे?
मार्क्सका विश्वासहरू बुझ्नका लागि उन्नाइसौँ शताब्दीको युरोपको सामाजिक र आर्थिक अवस्थालाई ध्यान दिनु आवश्यक छ। त्यो समयमा औद्योगिक क्रान्ति तीव्र रूपमा अघि बढिरहेको थियो। नयाँ कारखाना प्रणालीले ठूलो मात्रामा उत्पादन सुरु गरे पनि कामदार वर्गलाई अत्यन्त कठिन अवस्थातर्फ धकेलेको थियो। उनीहरूले न्यून तलब, लामो कार्यघण्टा,असुरक्षित र अस्वास्थ्यकर वातावरणमा काम गर्नुपर्थ्यो। साथै, शहरी क्षेत्रहरूमा झुग्गी बस्ती र गरिबी तीव्र रूपमा बढिरहेको थियो।
मार्क्सलाई लाग्थ्यो यस्तो असमानता र शोषण लामो समयसम्म टिक्न सक्दैन। उनका अनुसार जब कामदार वर्ग लगातार गरिबी र कठिनाइमा पर्छ, तब उनीहरू अन्ततः आफ्ना मालिकहरू अर्थात् पूँजीपति वर्ग विरुद्ध असन्तुष्ट हुन्छन् र परिवर्तनको माग गर्छन्। समाजवादी विचारक र संगठनहरूले यस असन्तुष्टिलाई राजनीतिक चेतनामा बदल्नेछन् र कामदारहरूलाई यो बुझाउनेछन् कि उत्पादन नाफाका लागि होइन, मानव आवश्यकताका लागि हुनुपर्छ। यस प्रक्रियाले श्रमिक वर्गलाई प्रणाली परिवर्तनतर्फ अग्रसर गराउनेछ भन्ने मार्क्सको धारणा थियो।
मार्क्सले कल्पना गरेको परिवर्तन प्रायः क्रान्तिको रूपमा आउन सक्छ भन्ने उनको प्रारम्भिक विश्लेषण थियो। यस्तो क्रान्तिपछि ‘सर्वहाराको तानाशाही’ भन्ने चरण सुरु हुनेछ। यस चरणमा श्रमिक वर्गको प्रतिनिधित्व गर्ने सरकार गठन हुनेछ, जसले अर्थतन्त्रलाई व्यवस्थित गर्नेछ। उत्पादनका साधनहरू जस्तै कारखाना, बैंक, यातायात र जमिन निजी स्वामित्वबाट हटाएर सार्वजनिक स्वामित्वमा ल्याइनेछन्। त्यसपछि राज्यले योजनाबद्ध रूपमा उत्पादन र वितरण गर्नेछ, जसले जनताको आवश्यकता अनुसार वस्तुहरूको आपूर्ति सुनिश्चित गर्नेछ।
मार्क्सका अनुसार यो चरण स्थायी हुँदैन। समयसँगै जब आर्थिक असमानता घट्दै जान्छ। र वर्गीय विभाजन समाप्त हुँदै जान्छ। राज्यको भूमिका पनि क्रमशः कमजोर हुँदै जान्छ। अन्ततः राज्य आफैं हराउने अवस्था आउँछ। किनकि वर्गीय शोषण नियन्त्रण गर्न राज्य आवश्यक रहँदैन।
दीर्घकालीन विकास प्रक्रियापछि मार्क्सले कल्पना गरेको अन्तिम अवस्था ‘साम्यवादी समाज’ हो। यस्तो समाजमा निजी सम्पत्ति र वर्ग विभाजन धेरै हदसम्म समाप्त हुन्छ।
उत्पादनका साधनहरू सामूहिक रूपमा प्रयोग हुन्छन् र उत्पादन जनताको आवश्यकता अनुसार गरिन्छ। यस अवस्थामा शोषण, जबरजस्ती श्रमको प्रयोग र आर्थिक असमानता जस्ता समस्याहरू न्यून वा समाप्त हुनेछन् भन्ने उनको विश्वास थियो।
मार्क्सले आफ्ना विचारहरू कसरी विकास गरे?
मार्क्सले आफ्ना विचारहरू एकैचोटि निर्माण गरेका होइनन्। उनका सिद्धान्तहरू लामो अध्ययन, अघिल्ला विचारकहरूको प्रभाव र युरोपको औद्योगिक समाजको गहिरो विश्लेषणबाट क्रमशः विकसित भएका हुन्। विशेषगरी उन्नाइसौँ शताब्दीको सुरुवाततिरका समाजवादी विचारकहरूको लेखनले उनलाई प्रारम्भिक दिशा दिएको थियो। रोबर्ट ओवेन, चार्ल्स फुरियर र हेनरी द सेन्ट सिमोन जस्ता विचारकहरूले पुँजीवादी प्रणालीलाई आलोचना गर्दै साझा स्वामित्व र सामूहिक व्यवस्थापनमा आधारित समाजको आवश्यकता औँल्याएका थिए। यिनै विचारहरूले मार्क्सलाई पनि पुँजीवादको विकल्प खोज्न प्रेरित गर्यो।
सन् १८४५ तिर आइपुग्दा मार्क्स लगभग पूर्ण रूपमा यो निष्कर्षमा पुगे कि पुँजीवाद केवल आर्थिक प्रणाली मात्र होइन, तर असमानता उत्पादन गर्ने संरचना पनि हो। उनका अनुसार पुँजीवाद प्रतिस्पर्धा, नाफा र प्राविधिक विकासमा आधारित भए पनि यसले बारम्बार आर्थिक संकट सिर्जना गर्छ। यस्ता संकटहरूमा धन केही व्यक्तिहरूको हातमा केन्द्रित हुँदै जान्छ, जसले समाजमा असमानता अझ बढाउँछ। यही कारणले पुँजीवाद दीर्घकालीन रूपमा स्थिर हुन सक्दैन भन्ने उनको विश्वास थियो।
मार्क्सका प्रारम्भिक प्रमुख लेखहरू जस्तै ‘१८४४ का पेरिस पाण्डुलिपिहरू’ र ‘१८४५-४६ को जर्मन विचारधारा’ उनको विचार विकासका महत्वपूर्ण चरण हुन्। यी कृतिहरू उनको जीवनकालमा व्यापक रूपमा प्रकाशित भएनन्, तर पछि बीसौँ शताब्दीमा मात्र सार्वजनिक गरिए। विशेषगरी १९३० को दशकमा सोभियत अनुसन्धानकर्ताहरूले यी लेखहरू पूर्ण रूपमा प्रकाशित गरेपछि मात्र विश्वभर उनका प्रारम्भिक विचारहरू गहिरो रूपमा अध्ययन हुन थाले।
‘१८४४ का पेरिस पाण्डुलिपिहरू’ मा मार्क्सले कामदारको ‘अलिनेसन’ अर्थात् अलगावको अवधारणा विस्तारमा प्रस्तुत गरेका छन्। उनका अनुसार पुँजीवादी उत्पादन प्रणालीमा कामदार आफ्नै श्रमबाट, आफ्नै उत्पादनबाट, अन्य कामदारबाट र अन्ततः मानव अस्तित्वको सारबाट समेत टाढा हुँदै जान्छ। यसलाई उनले ‘प्रजाति अस्तित्व’ भन्ने अर्थमा व्याख्या गरेका छन्। जसले मानिसको सामाजिकता, सहकार्य र सृजनशीलतालाई जनाउँछ।
तर पछि ‘जर्मन विचारधारा’ मा आइपुग्दा मार्क्सले आफ्नो दृष्टिकोण परिवर्तन गर्दै ‘प्रजाति अस्तित्व’ को दार्शनिक अवधारणालाई त्यागे। त्यसको सट्टा उनले समाजलाई उत्पादन प्रणालीको आधारमा बुझ्नुपर्ने बताए। उनका अनुसार इतिहास विभिन्न उत्पादन प्रणालीहरूको क्रमिक विकास हो, र पुँजीवाद त्यसैको एउटा आधुनिक चरण हो। यस चरणमा कामदारहरूबीच सहकार्य त हुन्छ। तर त्यो सहकार्य उत्पादन प्रक्रियाभित्र सीमित र नियन्त्रित हुन्छ।
पछिल्ला वर्षहरूमा मार्क्सले ‘अलिनेसन’ को अवधारणालाई पूर्ण रूपमा केन्द्रमा नराखे पनि यसको प्रभावपूर्ण आलोचना भने जारी राखे। उनले पुँजीवादले कामदारको व्यक्तित्वलाई टुक्र्याउने, उसलाई केवल मेसिनको एउटा भागजस्तै बनाउने र मानव गरिमालाई कमजोर बनाउने तर्क गरे। उनका अनुसार यान्त्रिकीकरण र औद्योगिकीकरणले कामदारलाई केही फुर्सद दिन सक्छ, तर त्यो स्वतन्त्रता होइन, बरु संरचनात्मक निर्भरता हो।
उनको सबैभन्दा महत्वपूर्ण कृति ‘क्यापिटल’ (१८६७) मा उनले पुँजीवादी प्रणालीको गहिरो विश्लेषण प्रस्तुत गरे। यसमा उनले लेखेका छन् कि पुँजीवादले कामदारलाई सम्पूर्ण मानवको रूपमा होइन, केवल उत्पादन प्रक्रियाको एउटा अंशको रूपमा व्यवहार गर्छ। यसले मानव श्रमलाई वस्तुमा रूपान्तरण गर्छ र श्रमिकलाई आफ्नै सिर्जनाबाट अलग गर्छ।
यसरी कार्ल मार्क्सका विचारहरू प्रारम्भिक समाजवादी प्रभाव, युरोपेली औद्योगिक अनुभव र निरन्तर वैचारिक पुनर्विचारको प्रक्रियाबाट विकसित भएका हुन्। उनका विचारहरू स्थिर नभई समयसँगै परिष्कृत हुँदै गएका थिए। जसले उनलाई आधुनिक समाजशास्त्र र राजनीतिक अर्थशास्त्रका सबैभन्दा महत्वपूर्ण चिन्तकहरूमध्ये एक बनाएको छ।
२०औँ शताब्दीमा कम्युनिज्म
२०औँ शताब्दीको सुरुतिर मार्क्सवादका धेरै प्रकारका व्याख्या र धाराहरू अस्तित्वमा थिए। तीमध्ये सबैभन्दा प्रभावशाली धारा जर्मनीको सोसियल डेमोक्रेटिक पार्टी (एस.डी.पी.)सँग सम्बन्धित थियो। यस पार्टीभित्र रहेका ‘सुधारवादी’ विचारकहरू, विशेष गरी एडुआर्ड बर्नस्टाइन, कार्ल मार्क्सका केही मुख्य निष्कर्षहरूसँग असहमत थिए। उनीहरूले मार्क्सले भनेझैँ पुँजीवाद अनिवार्य रूपमा ठूलो क्रान्ति र विनाशतर्फ जान्छ भन्ने विचारलाई अस्वीकार गरे। उनीहरूको धारणा थियो कि पुँजीवादी प्रणालीलाई क्रमिक सुधार, कानुनी परिवर्तन र मतदानमार्फत शान्तिपूर्ण रूपमा सुधार गर्न सकिन्छ।
तर त्यही समयमा रूसमा १९१७ को बोल्सेभिक क्रान्तिले मार्क्सवादी विचारलाई फरक दिशामा लैजान थाल्यो। भ्लादिमिर लेनिनको नेतृत्वमा बोल्सेभिकहरूले अन्तरिम सरकारलाई हटाएर श्रमिक वर्गको नाममा सत्ता कब्जा गरे। लेनिनको विचारमा एउटा अनुशासित र केन्द्रित क्रान्तिकारी पार्टीले राज्यसत्ता नियन्त्रण गर्न सक्छ। तर सत्ता जोगाउन र क्रान्ति अघि बढाउन निर्णय शक्ति पार्टीभित्र अत्यन्त केन्द्रित हुनुपर्छ। यसले व्यवहारमा सत्ता केही नेताहरूको हातमा केन्द्रित हुने बाटो खोल्यो।
लेनिनको मृत्युपछि सन् १९२४ मा जोसेफ स्टालिन सत्तामा उदाए। उनले क्रमशः सोभियत संघमा एकदलीय नियन्त्रण मजबुत बनाए र विरोधीहरूलाई दबाउने नीति अपनाए। १९३० को दशकमा स्टालिनको नेतृत्वमा ‘पर्ज’ भनिने अभियान चलाइयो जसमा राज्यका सम्भावित शत्रु ठानिएका लाखौँ मानिसहरूलाई पक्राउ, निर्वासन वा मृत्युदण्ड दिइयो। यस अवधिमा ठूलो संख्यामा मानिसहरू गुलाग भनिने जबरजस्ती श्रम शिविरमा पठाइए। ऐतिहासिक अनुमानहरू अनुसार लाखौँ मानिसहरूको मृत्यु भएको देखिन्छ यद्यपि ठ्याक्कै संख्या अझै विवादित छ।
यस्तै प्रकारका अत्यन्त कठोर नीतिहरू चीनमा पनि देखिए। जहाँ सन् १९४९ पछि माओ त्से-तुङको नेतृत्वमा कम्युनिस्ट शासन स्थापना भयो। विशेषगरी ‘ग्रेट लिप फर्वर्ड’ (१९५८–१९६१) कार्यक्रमका क्रममा कृषि र उद्योगलाई तीव्र रूपमा रूपान्तरण गर्ने प्रयास गर्दा ठूलो मानवीय संकट उत्पन्न भयो र लाखौँ मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ।
यसै सन्दर्भमा यी सबै घटनाहरूका लागि कार्ल मार्क्स जिम्मेवार थिए? भन्ने प्रश्न उठ्छ। मार्क्सका सिद्धान्तहरूले पूँजीवादको आलोचना, वर्ग संघर्षको अवधारणा र क्रान्तिको सम्भावना प्रस्तुत गरे जसले पछि धेरै क्रान्तिकारी आन्दोलनहरूलाई वैचारिक आधार दियो। त्यस अर्थमा उनका विचारहरूले २०औँ शताब्दीको कम्युनिज्मको प्रसारमा गहिरो प्रभाव पारेको मानिन्छ। तर स्टालिनवाद वा माओवादजस्ता अत्यन्त केन्द्रीकृत, दमनकारी र हिंसात्मक शासन प्रणालीहरू मार्क्सले प्रत्यक्ष रूपमा कल्पना गरेका थिएनन्।
मार्क्सले वर्गविहीन, शोषणरहित र राज्य अन्ततः कमजोर हुँदै जाने समाजको परिकल्पना गरेका थिए। तर व्यवहारमा उनका विचारहरू विभिन्न ऐतिहासिक, राजनीतिक र शक्ति संघर्षका कारण फरक तरिकाले व्याख्या र प्रयोग गरिए। त्यसैले मार्क्सलाई यी सबै घटनाहरूको प्रत्यक्ष जिम्मेवार भन्न सकिँदैन तर उनका सिद्धान्तहरू केही राजनीतिक प्रयोगहरूका लागि वैचारिक आधार बने भन्ने कुरा भने स्वीकार गरिन्छ।
नेपाल र मार्क्सवाद
नेपालमा पनि मार्क्सवादको प्रवेश बीसौँ शताब्दीको मध्यतिर भयो । नेपाल कम्युनिस्ट पार्टी को गठनपछि मार्क्सवादी विचारहरू राजनीतिक बहस र आन्दोलनमा सक्रिय रूपमा प्रवेश गरे। सुरुमा यी विचारहरू विशेषगरी गरिबी, भूमि असमानता र श्रमिक तथा किसानका समस्यासँग जोडिएका थिए। ग्रामीण समाजमा रहेका असमान संरचनाहरूलाई चुनौती दिने वैचारिक आधारका रूपमा मार्क्सवाद प्रयोग गरियो।
नेपालको राजनीतिक इतिहासमा मार्क्सवादले विभिन्न रूप लिएको छ। कहिले यो सशस्त्र संघर्षको आधार बनेर माओवादी जनयुद्ध मा प्रयोग भयो। भने कहिले संसदीय लोकतन्त्रभित्र प्रवेश गरेर राजनीतिक दलहरूको वैचारिक आधार बन्यो। २०६२/६३ को राजनीतिक परिवर्तनपछि मार्क्सवादी विचारधारा बोकेका दलहरू पूर्ण रूपमा लोकतान्त्रिक प्रणालीभित्र समाहित भए।
नेपालका प्रमुख कम्युनिस्ट नेताहरूमा मदन भण्डारी, मनमोहन अधिकारी, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत धेरै नेताहरू पर्छन्। यी नेताहरूले फरक-फरक समयमा र फरक-फरक ढंगले मार्क्सवादलाई नेपाली राजनीतिमा व्याख्या गर्ने गरेका छन्। यसले मार्क्सवादलाई नेपालमा व्यवहारिक राजनीतिक विचारधाराको रूपमा स्थापित गर्न खोजेको जस्तो देखिन्छ।
मार्क्सवादको मूल मान्यता उत्पादनका साधनहरूको सामूहिक स्वामित्व हो। तर नेपालमा भने मिश्रित अर्थतन्त्र रहेको छ। जहाँ निजी क्षेत्र, सरकारी क्षेत्र र सहकारी क्षेत्र सँगसँगै सञ्चालनमा छन्। कम्युनिस्ट दलहरूले पनि व्यवहारमा निजी सम्पत्ति पूर्ण रूपमा समाप्त गर्ने नीति अपनाएका छैनन्। बरु सामाजिक न्याय र राज्यको भूमिकामा जोड दिएका छन्।
नेपालमा मार्क्सवादको प्रभाव विशेषगरी भूमि सुधार, श्रमिक अधिकार, सामाजिक समानता र राज्यको भूमिकाबारे बहसमा स्पष्ट देखिन्छ। तर यसको व्यवहारिक प्रयोग राजनीतिक प्रतिस्पर्धा, सत्ता संघर्ष र गठबन्धन प्रणालीसँग मिसिएर फरक रूप लिएको छ।
नेपालमा पूर्ण रूपमा मार्क्सवादी आर्थिक प्रणाली लागू छैन। तर सामाजिक न्याय र समानताको बहसमा यसको प्रभाव स्पष्ट देखिन्छ।
मार्क्स आज पनि उतीकै सान्दर्भिक छन्?
मार्क्सले समाज र अर्थतन्त्रलाई बुझ्ने नयाँ दृष्टिकोण प्रस्तुत गरे। उनले पुँजीवादलाई इतिहासको एउटा चरणको रूपमा हेरेका थिए। यही कारणले उनका विचारहरू आज पनि अर्थतन्त्र, राजनीति र समाज अध्ययनमा महत्वपूर्ण मानिन्छन्।
उनका अनुसार पुँजीवादी प्रणालीमा नाफा नै मुख्य उद्देश्य हुन्छ। जसले कहिलेकाहीँ मानव र वातावरणीय आवश्यकताभन्दा माथि प्राथमिकता पाउन सक्छ।
अन्ततः उनका विचारहरूले समाजमा रहेको असमानता, शोषण र भविष्यका चुनौतीहरूबारे सोच्न प्रेरित गर्छन्।
