पछिल्लो दशकको अर्थतन्त्रको तस्वीर
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले केही दिनअघि सार्वजनिक गरेको पछिल्लो दशकको आर्थिक श्वेतपत्रले नेपालको अर्थतन्त्रको तस्वीर देखाएको छ। राजनीतिक आरोप प्रत्यारोप, सामाजिक सञ्जालमा फैलिने निराशावादी धारणा र ‘देश खत्तम भयो’ भन्ने लोकप्रिय तर भ्रामक कथनका बीच यो श्वेतपत्रले तथ्य र यथार्थका आधारमा अर्थतन्त्रको मुहार देखाउन खोजेको छ।
नेपालका मुख्य सूचकांकहरू विगतको एक दशकमा निरन्तर रूपमा सकारात्मक दिशातर्फ उन्मुख भएको देखिन्छ।
रास्वपाले २०७९ को निर्वाचनमा ‘देश डुब्दैछ’, ‘सबै खत्तम छ’, ‘राजनीतिक दलहरुले सबै बर्बाद गरे’ भन्ने भाष्य निर्माण गरेर राजनीतिक समर्थन बटुलेको थियो। यही भाष्यले २०८२ को निर्वाचनमा अभूतपुर्व जनमत बटुल्न सफल बन्यो । तर विडम्बना यसै पार्टीका अर्थमन्त्रीद्वारा प्रस्तुत श्वेतपत्रले ‘देश खत्तम भयो’ भन्ने धारणा तथ्यगत रूपमा सही नभएको प्रष्ट पारिदिएको छ ।
कांग्रेस एमाले वा पुराना राजनीतिक दलहरुले भनेजस्तै देशमा चमत्कारी प्रगति पनि भएको त छैन तर रास्वपाले चित्रण गरेजस्तो विनाश पनि भएको छैन। न अत्यन्त राम्रो, न अत्यन्त खराब- यीनै दुई भाष्यबीचको यथार्थमा अर्थतन्त्र उभिएको छ । अर्थात् वाग्लेले जारी गरेको श्वेतपत्रले देश स्थिर सुधारतर्फ अघि बढिरहेको अवस्था उजागर गरेको छ।
यो दशक नेपालका लागि सबभन्दा चुनौतीपूर्ण दशकहरूमध्ये एक थियो। २०७२ सालको विनाशकारी भूकम्पमा देशका हजारौँ नागरिक मरे। सयौँ बस्ती ध्वस्त भए। लाखौँ मानिसलाई विस्थापित भए र हजारौँ भौतिक संरचना एकैछिनमा ढले।
०७२ को विनाशकारी भूकम्पले अर्थतन्त्रलाई गम्भीर रूपमा हल्लाएको थियो। आर्थिक वृद्धि, जीवनस्तर, लगानी, उत्पादन क्षमता सबै क्षेत्रमा ठूलो प्रभाव पर्यो।
२०७२ को असोजमा संविधान जारी भएपछि भारतले नेपालमाथि अघोषित नाकाबन्दी गर्यो। त्यो नाकाबन्दीले भूकम्पजस्तै कठोर प्रभाव पारेको थियो। इन्धन आपूर्ति ठप्पजस्तै भयो। उद्योग ठप्प बने। व्यापारिक् गतिविधि सुस्त बने। यातायात र स्वास्थ्य सेवा प्रभावित भए। नाकाबन्दीले सामाजिक-आर्थिक गतिविधिलाई लगभग नराम्ररी प्रभावित बने ।
त्यसको केही वर्षपछि २०१९/२० मा कोरोना महामारी संसारभरि फैलियो। महामारीले पुरै संसार आतंकित थियो । पुरै विश्व आतंकित थियो।
महामारी कै प्रभावहरु नेपालको अर्थतन्त्रमा देखिन थाले। पर्यटन क्षेत्र पूर्ण रूपमा रोकियो। व्यापार क्षेत्र नाकाबन्दीले ध्वस्त बनिसकेको थियो। महिनौँ सम्म उद्योग बन्द रहनुले रोजगारी घट्यो र राजस्व खुम्चियो ।
महामारीले विश्व कै आर्थिक संरचना हल्लिएको थियो। त्यो कहरमा नेपालजस्तो मुलुक प्रभावित हुनु स्वाभाविक नै थियो। गम्भीर संकटका बाबजुद पनि नेपालले आधारभूत विकास र आर्थिक सूचकांकलाई सकारात्मक राख्न सफल भएको तथ्यले नेपाल खत्तम भएको थिएन भन्ने कुरा उजागर गर्छ।
यो दशकभरि नेपालले ठुलो आर्थिक सामाजिक प्रगति हासिल गरेको छ । जसलाई देश बर्बाद छ भनेर सत्तामा पुगेका अर्थमन्त्रीको श्वेतपत्रले प्रमाणित गर्दछ।
पछिल्लो १० वर्षमा प्रतिव्यक्ति आय ७ सय अमेरिकी डलरबाट बढेर १४ सय ४ डलर पुगेको छ। यो वृद्धि राजनीतिक अस्थिरता, विपत्ति र संक्रमणकालका बीच हासिल गरिएको उल्लेखनीय उपलब्धि हो। आर्थिक वृद्धि औसत ४.२ प्रतिशत रहनु पनि स्थिर अर्थतन्त्रको सूचक हो। ०७२ मा आर्थिक वृद्धि २ प्रतिशत को आसपास रहने गर्थ्यो।
यही दशकमा सरकारले खर्च गर्ने बजेटको आकार दशकमा तीन गुणाले वृद्धि भएको छ, जसले अर्थतन्त्रको संरचनात्मक वृद्धि र सरकारी क्षमता विस्तार भएको सङ्केत गर्छ।
विद्युत क्षेत्रमा नेपालले यही दशकमा ठुलो उपलब्धी हासिल गरेको छ । २०६८ मा विद्युत उत्पादन ६ सय ९७ दशमलव ८५ मेगावाटथियो। तर पछिल्लो दशकमा ४ हजार १ सय ५ मेगावाट विद्युत उत्पादन भइरहेको छ। अहिले नेपाल विद्युत आपूर्तिमा आत्मनिर्भर मात्रै होइन, निर्यात गर्ने अवस्थामा पुगेको छ।
अर्को महत्वपूर्ण उपलब्धी हासिल गरिएको क्षेत्र हो- स्वास्थ्य क्षेत्र। यो अवधिमा मातृ मृत्युदर ५३९ बाट घटेर १५१ मा आएर उभिएको छ। बाल मृत्युदर ११८ बाट ३३, शिशु मृत्युदर ७८ बाट २८ मा झरेको छ। २०७१ को सर्वेक्षणले एकजना चिकित्सकले ३९ सय ७५ जना बिरामी हेर्नुपर्थ्यो। तर अहिले त्यो झरेर ७ सय ३५ मा पुगेको छ।
सरकारी स्वास्थ्य संस्था ४ हजार ४ सय ८५ बाट बढेर ८ हजार ७ सय ४६ पुगेका छन्। सरकारी अस्पतालमा शैयाको संख्या ७ हजार ५ सय ५० बाट १८ हजार ६ सय ४० पुगेको छ। स्वास्थ्य पूर्वाधार, सेवा र जनशक्ति सबैमा दोब्बरभन्दा बढी वृद्धि हुनु नेपालका लागि अत्यन्त प्रशंसनीय उपलब्धि हो। शिक्षा र मानव विकास सूचकांकमा पनि नेपालले उल्लेखनीय सुधार गरेको छ। साक्षरता दर ५७ प्रतिशतबाट ७६ प्रतिशतमा पुगेको छ। औसत आयु ५७ वर्षबाट ७१ वर्षमा पुगेको छ ।
यही दशकमा कृषिको आधुनिकीकरण, उर्वरता सुधार, प्रविधि प्रयोग र संरचनामा सकारात्मक हस्तक्षेप भएको छ। सिचाई नहरहरु बन्दैछन्। तुलनात्मक रुपमा धानको उत्पादन ३ दशमलव १५ टन प्रतिहेक्टरबाट ४ दशमलव १९ टनमा पुग्दा गहुँ २ दशमलव ५० बाट ३ दशमलव ४६ टनमा र मकै २ दशमलव ३३ बाट ३ प्रतिशतमा टनमा पुग्नुले कृषी उत्पादनको क्षेत्रलाई पनि सकारात्मक उर्जा प्रदान गरेको छ ।
पूर्वाधार र प्रविधिको विकासका दृष्टिकोणले यो दशक नेपालका लागि महत्वपुर्ण दशक हो । विभिन्न ठाउँमा ठुला ठुला प्रोजेक्टहरु अहिलेपनि निर्माणाधीन अवस्थामा छन्। आईटी, एआई लगायतका प्रविधिको क्षेत्रका बहसहरु यही समयमा सुरु भएका छन्। देशका सबै जिल्ला अहिले सडक सञ्जालसँग जोडिएका छन्। यो देशको भौतिक विकासको लागि महत्वपूर्ण खुड्किलो हो। मान्छेहरुले बह्न्ने गर्छन् सडकले विकास हुन्छ र? तर यथार्थ सडक नभएर चाहिँ विकास सम्भव हुँदैन।
नेपालमा इन्टरनेटको पहुँच लगभग सबै बस्तीसम्म पुगेको छ। २०६६/६७ ताका प्राय: ग्रामिण भूभागका जनता टेलिफोनसँग पनि साक्षात्कार गर्न नपाउने स्थिति थियो। तर देशका अधिकांश टोलमा इन्टरनेटको सुविधा विस्तार भएको छ। यो प्रविधिको क्षेत्रमा नेपालका लागि महत्वपूर्ण उपलब्धी हो।
अहिले देशमा ११ सय अर्ब भन्दा बढी राजस्व संकलन हुन्छ। तर अहिलेभन्दा ११ वर्ष अगाडि यो आँकडा ४ सय अर्बमा संकुचित थियो।
माथिका केही सुचाकाङ्क देश खतरै बनेको रहेछ भन्ने आधार भने पक्कै होइनन्। देशमा सुशासन, पारदर्शिता, सामाजिक न्याय लगायतका सुचाकाङ्कमा जति काम हुनुपर्थ्यो, हुन सकेन । तर अर्थमन्त्रीले सार्वजनिक गरेको श्वेतपत्रले निराशा र भ्रमको प्रचार गर्दै हिन्नेहरुलाई भने गहिरो झापड परेको हुनुपर्छ।
तथ्य नहेरी, भावना र क्रोधमा आधारित भीडको मनस्थितिले महत्वपूर्ण हाम्रो संरचनाहरू नष्ट हुँदै गइरहेको छ । यसरी अध्ययन नगर्ने, सुनेको पत्याउने, भावनामा विश्वस्त हुने मानसिकता समाजका लागि दीर्घकालीन चुनौती हो।
पछिल्लो एक दशकमा नेपालले गम्भीर संकटहरूको सामना गर्दै पनि स्थिर आर्थिक सुधार हासिल गरेको छ। राजनीतिक आरोप–प्रत्यारोपले चित्रण गरिएजस्तो देश विनाशको बाटोमा छैन। तर चमत्कारी प्रगति भएको दाबी पनि वास्तविकताबाट टाढा छ। नेपालले पछिल्लो दशकमा सम्भावनाभन्दा बढी उपलब्धि हासिल गरेको कुरा निराशावादी भाष्यको छायामा पनि तथ्यले स्पष्ट गर्छ ।
