नर्भिक अस्पतालमा पीआईसीयुसहित पूर्ण बालरोग उपचार सेवा विस्तार
काठमाडौं। नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले बाल सघन उपचार कक्ष (पीआईसीयु) सहितको पूर्ण बालरोग उपचार सेवा सञ्चालनमा ल्याएको छ।
अस्पतालले नवजात शिशुदेखि किशोरावस्थासम्मका बालबालिकालाई एकै स्थानमा सम्पूर्ण उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित बालरोग सेवाको विस्तार गरेको हो।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रका अनुसार अब अस्पतालले आकस्मिक सेवा, ओपीडी, बाल सर्जरी सेवा तथा नवजात र बाल सघन उपचार कक्ष (एनआईसीयु र पीआईसीयु) सहितको विस्तारित सेवा प्रदान गर्नेछ।
उनले नर्भिकमा पहिले नै एनआईसीयु सेवा उपलब्ध रहेको र अब थप आधुनिक उपकरण तथा प्रविधिसहित पीआईसीयु सेवा विस्तार गरिएको बताए। उनका अनुसार दक्ष विशेषज्ञ चिकित्सक र तालिमप्राप्त नर्सिङ जनशक्तिमार्फत सम्पूर्ण बालरोग उपचार सेवा उपलब्ध गराइनेछ।
नर्भिक अस्पतालमा पेडियाट्रिक ग्यास्ट्रोएन्टेरोलोजी, र्युम्याटोलोजी, पल्मनोलोजी, न्युरोलोजी, हेमाटोलोजी, क्रिटिकल केयर, अर्थोपेडिक तथा बाल सर्जरीलगायत विशिष्टिकृत सेवाहरू सञ्चालनमा छन्।
अस्पतालमा हाल १३ जना बालरोग विशेषज्ञ तथा बहुविशेषज्ञ चिकित्सक कार्यरत रहेकोमा थप ७ जना नवजात शिशु विशेषज्ञ चिकित्सक पनि जोडिएको अस्पतालले जनाएको छ।
