च्यासलस्थित एमाले मुख्यालय खाली गर्न मन्त्रालयको निर्देशन
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको भवन खाली गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले निर्देशन दिएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानभित्र रहेको पार्टी कार्यालय भोगाधिकारको जग्गा लिज प्रक्रियामा नपरेको भन्दै मन्त्रालयले तत्काल खाली गर्न सूचना जारी गरेको हो।
मन्त्रालयका अनुसार उक्त जग्गाको स्वामित्व र उपयोग सम्बन्धी प्रक्रिया कानुनी रूपमा टुंगोमा नपुगेकाले हाल प्रयोग भइरहेको संरचना नियमअनुसार व्यवस्थापन गर्नुपर्ने अवस्था आएको जनाएको छ। सरकारी अभिलेखअनुसार भोगचलनमा रहेको जग्गा औपचारिक लिज सम्झौतामा रूपान्तरण नभएको भन्दै मन्त्रालयले आवश्यक निर्णय अघि बढाएको बताइएको छ।
च्यासलस्थित भवन लामो समयदेखि एमालेको केन्द्रीय गतिविधिको केन्द्रका रूपमा प्रयोग हुँदै आएको छ। पार्टीका विभिन्न बैठक, प्रशिक्षण तथा राजनीतिक कार्यक्रमहरू सोही भवनबाट सञ्चालन हुँदै आएका छन्। मन्त्रालयको पछिल्लो निर्देशनपछि अब एमालेले कार्यालय व्यवस्थापनबारे के निर्णय लिन्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोको रूपमा हेरिएको छ।
